काठमाडौं। नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ। समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो।
महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ। स्टलमा खटिएर स्वाद चखाउँदै गरेका हरिकुमार श्रेष्ठले भने, ‘यहाँ आइपुग्नु हुने सबैले नेवारी खाने कुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ।’
महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उनले बताए।
एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनले बताए।
नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताए। नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आउनेका लागि नौलो खाजा बन्न पुगेको छ।