काठमाडौं। अमेरिकी सहायतामा सञ्चालित परियोजना रोकिँदा आन्तरिक उडानको २ सयभन्दा बढी हवाई टिकट रद्द भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै ९० दिनका लागि सम्पूर्ण सहायता रोक्ने निर्णयले बुकिङ भएको हवाई टिकट रद्द गरिएको हो।
हाल अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बाट प्रवाहित हुने विकास सहायता कम्तीमा तीन महिना (९० दिन) रोक्ने निर्णय गरेको छ। जसका कारण त्यहाँ कार्यरत कर्मचारी काठमाडौंबाट विभिन्न ठाउँमा र विभिन्न ठाउँबाट काठमाडौं आउनका लागि बुकिङ गरिएका हवाई टिकट रद्द भएको एयरलाइन्स कम्पनीले जनाएको हो।
टिकट रद्द हुनेमा सबैभन्दा बढी बुद्ध र श्री एयरलाइन्सको रहेको छ। यद्यपि, ती एयरलाइन्सको कति उडानका टिकट रद्द भए भन्ने खुलाएको छैन। यूएसएआईडीका अधिकांश कर्मचारी हवाई यात्रा मार्फत विभिन्न ठाउँमा जाने गरेका थिए। साथै, विदेशी कर्मचारीको उडान पनि रोकिएको छ। जसका कारण एयरलाइन्स कम्पनीले विदेशी डलर आम्दानी गुमाएको छ। एक एयरलाइन्सका उच्च अधिकारीका अनुसार यूएसआईडीबाट ठूलो संख्यामा विदेशीले यात्रा गर्ने गरेका थिए।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले पछिल्लो समय हवाई यात्रुको कमी भइरहेको बेला यूएसआईडीको कार्यक्रम स्थगन हुँदा एयरलाइन्सलाई ठूलो घाटा भएको बताए। ‘एयरलाइन्सको नियमित यात्रुको रुपमा विदेशी परियोजनाका कर्मचारी नै हुन्,’ अध्यक्ष कार्कीले भने, ‘अमेरिकी सहयोगमा सञ्चालित परियोजना रोकिनु हाम्रो लागि ठूलो घाटा हो। यसलाई कुटनीतिक पहल गरेर तत्कालै नियमित गराउनुपर्छ।’
यस्तै, काठमाडौंसहित देशका ठूला सहरमा रहेका तारे होटल तथा रिसोर्टमा हुने सेमिनार तथा गोष्टी समेत प्रभावित भएको छ। खासगरी काठमाडौंमा रहेको अमेरिकी चेन होटलको व्यापारमा ठूलो धक्का लाग्ने निश्चित भएको व्यवसायीको भनाइ छ।
अमेरिकी परियोजनाको कार्यक्रमले मात्र ती चेन होटलको व्यापार करिब २० प्रतिशतभन्दा बढी धानिरहेको थियो। अब तीन महिनाका लागि कुनै पनि कार्यक्रम नहुने निश्चित भएको छ। राष्ट्रपति ट्रम्पको निर्णयले नेपालमा १० हजारभन्दा बढी मासिनको प्रत्यक्ष रोजगारी गुम्ने जोखिम बढिरहेको छ।
तत्कालका लागि उनीहरूले रोजगारी गुमाइसकेका छन्। अमेरिकाबाट सहयोग पाउने विश्वभरका मुलुकमध्ये नेपाल १६ औँ स्थानमा पर्छ।