काठमाडौं। प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले पाथीभरा केबलकार निर्माणबारे १९ बुँदे धारणा व्यक्त गरेका छन्। बुधबार एक पत्रकार सम्मेलनमार्फत् सांसद भट्टराईले १९ बुँदे धारणा व्यक्त गरेका हुन्। उनले यो केबलकार निर्माणलाई वार्ता र छलफलबाट टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
उनले संघीय, प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पूरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको बताए। ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधि केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो।
‘केबलकार निर्मणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो। पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो,’ उनले भनेका छन्, ‘जहाँ वर्षेनी नेपालका विभिन्न भाग, भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, बिहारलगायतक क्षेत्रबट ठूलो मात्रामा दशनार्थी आउने गरेका छन्।’
सांसद भट्टराईले निर्माण कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावणीय प्रभाव मूल्यांकन प्रतिविदेनमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने नदेखिएको पनि उल्लेख गरेका छन्। पवित्र कान्छी धानभन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको र पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनले बताएका छन्।
‘पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन। रुख तथा पोल गरेर २११२ रुख कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन,’ भट्टराईले भनेका छन्, ‘भौगोलिक रुपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस्, वृद्ध वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच हुन्छ भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेमा दुईमत छैन।’
उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने र त्यो शान्तिपूर्वक र सभ्य हुनुपर्नेमा जोड दिए। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने उनको तर्क छ। परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भट्टराईले उल्लेख गरेका छन्।