काठमाडौं। इन्टरनेट सेवामा दोस्रो स्थानका लागि सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र डिस मिडिया नेटवर्क (डिसहोम)बीच तीब्र प्रतिस्पर्धा देखिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुस मसान्तसम्म पहिलो स्थानमा रहेको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वल्र्डलिंक कम्युनिकेसनको ग्राहक संख्या ९ लाख ६५ हजार ०३७ रहेको छ। यस कम्पनीले इन्टरनेट सेवाको ३२.३३ प्रतिशत हिस्सा ओगटेको छ।
एक महिना अघि अर्थात् मंसिरसम्म भने वल्र्डलिंकको ग्राहकसंख्या ९ लाख ५२ हजार १४७ थियो। यस्तै, कात्तिकसम्म ९ लाख ५० हजार १५८, असोजसम्म ९ लाख ३३ हजार २०५ र भदौसम्म ९ लाख २८ हजार ३६९ ग्राहक वल्र्डलिंकको थियो। यसरी, असोजसम्म ९ लाख २८ हजार ग्राहक रहेको वल्र्डलिंकले त्यसपछि बजार विस्तारलाई निरन्तरता दिँदै पुस मसान्तसम्म आईपुग्दा ९ लाख ६५ हजार पुराएको हो।
दोस्रो स्थानका प्रतिस्पर्धा गरिरहेका नेपाल टेलिकम र डिसहोमबीचको ग्राहक अन्तर भने सामान्य छ। पुस मसान्तसम्म ३ लाख ४८ हजार ३६२ ग्राहक बनाएको नेपाल टेलिकम इन्टरनेट सेवा प्रदायकमा ग्राहक संख्याको आधारमा दोस्रो स्थानमा छ। यसले बजारको ११.६७ प्रतिशत हिस्सा ओगटेको छ।
तेस्रो स्थानमा रहेको डिसहोमले पनि पुस मसान्तसम्म ३ लाख ३६ हजार ४८१ ग्राहक बनाएको छ जसको बजार हिस्सा ११.२७ प्रतिशत छ। मंसिरसम्म टेलिकमको ग्राहक ३ लाख ४७ हजार ३७५ र बजार हिस्सा ११.६३ प्रतिशत थियो भने सोही समयसम्म डिसहोमको ग्राहक संख्या ३ लाख ३४ हजार १२६ र बजार हिस्सा ११.१९ प्रतिसत थियो।
खासगरी, असार यता नेपाल टेलिकम दोस्रो स्थानमा र डिसहोम तेस्रो स्थानमा रहँदै आएका छन्। तर, असारको तथ्यांक हेर्ने हो भने डिसहोम दोस्रो र नेपाल टेलिकम तेस्रो स्थानमा थिए। असारसम्मको तथ्यांक हेर्ने हो भने पहिलो स्थानमा रहेको वल्र्डलिंकको ९ लाख १८ हजार ७३३ ग्राहक थिए।
दोस्रो स्थानमा रहेको डिसहोमको ३ लाख १९ हजार ६९६ र तेस्रो स्थानमा रहेको नेपाल टेलिकमको ३ लाख १३ हजार ५४५ ग्राहक थिए। असारमा डिसहोमले ११.३५ प्रतिशत बजार हिस्सा ओगट्दा नेपाल टेलिकमले ११.१३ प्रतिशत ओगटेको थियो। जेठको तथ्यांक हेर्ने हो भने पनि ९ लाख १२ हजार २९६ ग्राहकसहित वल्र्डलिंक पहिलो स्थानमा, ३ लाख १२ हजार २२८ ग्राहकसहित नेपाल टेलिकम दोस्रो स्थानमा र ३ लाख १२ हजार ६१३ ग्राहकसहित हिसहोम तेस्रो स्थानमा थियो।
गत वर्षको पुससम्मको तथ्यांक हेर्ने हो भने नेपाल टेलिकम छठौं स्थानमा थियो। गत वर्षको पुससम्म ८ लाख ६५ हजार १३ ग्राहकसहित वल्र्डलिंक पहिलो, ३ लाख ४४ हजार ९२४ ग्राहकसहित डिसहोम दोस्रो, ३ लाख ६ हजार ४५ ग्राहकसहित भायानेट तेस्रो, २ लाख ९९ हजारा ५० ग्राहकसहित क्लासिक टेक चौथो, २ लाख ९१ हजार ७१५ ग्राहकसहित सुबिसु पाँचौं र २ लाख ७९ हजार ५८१ ग्राहकसहित नेपाल टेलिकम छठौं स्थानमा थिए।
पछिल्लो एक वर्षमा नेपाल टेलिकमले आफ्नो ग्राहक संख्यामा व्यापक वृद्धि गर्दै दोस्रो स्थानमा उक्लिएको देखिन्छ। चालू वर्षको पुसम्मको तथ्यांकअनुसार चौथो स्थानमा रहेको सुबिसुको ३ लाख ८ हजार १२७ ग्राहक र बजार हिस्सा १०.३२ प्रतिशत छ। पाँचौं स्थानमा रहेको भायानेटको २ लाख १८ हजार १२२ ग्राहक, छैठौं स्थानमा रहेको वेबसफर नेपालको १ लाख ८४ हजार ९४४, सातौं स्थानमा रहेको क्लासिक टेकको १ लाख ७४ हजार ५०४ ग्राहक संख्या रहेको छ।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा २९ लाख ८४ हजार ५६१ ग्राहकले इन्टरनेट जडान गरेका छन्। जसमा २९ लाख ५० हजार ७५८ ग्राहकले फाइबर र ३१ हजार ९१३ ग्राहकले वायरलेस इन्टरनेट जडान गरेका छन्। गत वर्षको पुससम्म भने इन्टरनेट जडान गर्ने ग्राहकको संख्या ३१ लाख ६९ हजार ९४० थियो। जसमा ३१ लाख ३७ हजार ८९१ फाइबरका र १० हजार ४८१ वायरलेस ग्राहक थिए। २०८० पुसदेखि २०८१ पुससम्मको एक वर्षमा १ लाख ८७ हजार बढी ग्राहक घटेको देखिन्छ।
बजारमा देखिएको आर्थिक मन्दीका कारण सटरहरु खाली हुँदा र व्यवसायहरु एक पछि अर्को गरेर बन्द हुँदा इन्टरनेट राख्ने ग्राहक घट्दै गएको देखिन्छ। नेपालले २०७२ सालमा भूकम्पको सामना गर्नुपरेको थियो। जसले समग्र पूर्वाधार र अर्थतन्त्रमा असर पुर्यायो। यहि समयमा मुलुकले अघोषित नाकाबन्दीको पनि सामना गर्नुपर्यो। भूकम्प र नाका बन्दीको असरबाट माथि उक्लन खोज्दै गर्दा मुलुकले २०७६ सालबाट विश्वव्यापी फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्धको असर पनि व्यहोर्नुपर्यो।
यी कुराहरुले गर्दा विस्तारै मुलुको अर्थतन्त्र संकटतर्फ धकेलियो। व्यवसायका सटरहरु एकपछि अर्को गर्दै बन्द हुँदै गए। अहिले पनि ठूलो संख्यामा सटरहरु खाली रहेको हामी देख्न सक्छौं। पहिला हरेक सटर खाली नहुने र त्यहाँ इन्टरनेट जडान हुने गरेको थियो। तर, व्यवसाय संकुचित भएपछि मानिसले घरमा प्रयोग गर्ने इन्टरनेटसमेत नविकरण नगर्ने गरेका छन्। यहि कारणले नयाँ प्रयोगकर्ता पनि उल्लेख्य मात्रामा नथपिएको र पुरानै ग्राहकले पनि नविकरण नगर्ने गरेकोले ग्राहक संख्या घट्दै गएको हो।