काठमाडौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ।
२००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ। यो दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।
माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।
पछिल्लो समय नारायणहिटी दरबार संग्र्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ। स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिएको छ।
विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले दिए शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
सहिद दिवस अवसरमा आज शुभकामना दिँदै उनले महान् सहिदको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्।
वीर सहिदले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ।
‘सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, शुभकामना सन्देशमा उनले भनेका छन्।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरंगानाप्रति सम्झनामा हरेक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आइएको छ।
यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरुले सहिद दिवको शुभकामना व्यक्त गरेका छन्।