काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधीलगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ। इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटीलगायत क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो। इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउनेबारे अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे।
सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपालीलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे।
नेपालमा हालै संशोधन गर्न लागिएका कानुनले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरुबीच बी टु बी माध्यामबाट लगानीका अवसरहरु खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ।
चेम्बर पदाधिकारीसँगको भेटमा राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिकृया दिए। इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रको श्रमिक लैजान पनि सम्झौता गर्न तयार रहेको बताए।
इजरायलको न्यूनतम ज्याला १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाइ थियो। दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजीकरण गर्ने राजदूत बासले बताए।