काठमाडौं। ग्याँसको कृतिम अभाव देखाएर अर्कै ब्राण्डको सिलिण्डर बेच्दै अतिरिक्त शुल्क लिने डिलरमाथि नेपाल आयल निगमले अनुगमन सुरु गरेको छ। खासगरी नेपाल ग्याँसको कृतिम अभाव देखाउँदै डिलरले अतिरिक्त शुल्क लिएर अर्कै ब्राण्डको सिलिण्डर बिक्री गरेको सूचना पाएपछि निगमले अनुगमन सुरु गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
‘मंगलबार अनामनगर लगायतका केही क्षेत्रमा अनुगमन गर्न प्रतिनिधि पठाएका छौँ,’ प्रवक्ता ठाकुरले भने, ‘ग्याँस कम्पनीभन्दा डिलरले नै कृतिम अभाव गरेको हुन सक्ने भएकाले त्यहीअनुसारको कारवाही अगाडि बढाउँछौँ।’ उद्योगले मागे जति नै ग्याँस निगमले दिइरहेकाले अभाव हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। उनले केही डिलरहरुले चलाखी गरेको हुन सक्ने बताउँदै निगमले अनुगमन गरी कृतिम अभाव गरेर उपभोक्तामाथि ठगी गरेको पाइए आवश्यक कारवाही गर्ने बताए।
यता, बजार अनुगमनको जिम्मेवारी सम्हालेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने डिलरले कृतिम अभाव देखाएर उपभोक्ताबाट अतिरिक्त शुल्क लिएको विषयमा अनविज्ञता प्रकट गरेका छन्। विभागका महानिर्देशक राजन पौडेलले पर्याप्त मात्रामा बजारमा ग्याँस भएकाले कृतिम अभाव नभएको जिकीर गरे।
‘बजारमा ग्याँसको अभाव छ भन्ने सुनिएको छैन,’ महानिर्देशक पौडेलले भने, ‘यदि कृतिम अभाव देखाएर अर्कै ब्राण्डको सिलिण्डर बेच्न अतिरिक्त शुल्क लिएको पाइएमा कारवाही गर्छौं।’ उपभोक्ताबाट पनि हालसम्म यो खालको गुनासो नआएको बताउँदै बजार अनुगमनलाई तीव्रता दिने उनले बताए।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारी निकायले ग्याँस अभाव नभएको बताए पनि बजारमा नपाउने गरेको गुनासो सुनिरहेको र त्यस विषयमा निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई समेत जानकारी गराइसकेको बताए।
‘बजार अनुगमनको जिम्मेवारी पाएको बाणिज्य विभाग चनाखो नहुँदा उपभोक्ता लुटिरहेका छन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘ग्याँस सिलिण्डर सटहीमा लिने अतिरिक्त शुल्क नहटाएसम्म यो समस्या रहिरहन्छ। निगमले यसमा तत्कालै निर्णय गर्नु पर्छ।’
बजारमा नेपाल ग्याँसको कृतिम अभाव देखाएर डिलरले अर्को ब्राण्ड बिक्री गर्दै आएको पाइएको छ। केही महिनादेखि नेपाल ग्याँसका ग्राहकलाई अभाव देखाउँदै डिलरहरुले भिन्न भिन्न ब्राण्डको सिलिण्डर बेच्ने गरेको हो।
अन्य ग्याँसको तुलनामा नेपाल ग्याँसको ग्राहक धेरै छ। त्यही तुलनामा डिलर पनि बढी छ। नियमित सिलिण्डर बेच्दा सिमित मात्र डिलरले नाफा लिन पाउँछन्। तर, ब्राण्ड परिवर्तन गरी अर्को सिलिण्डर बेच्न पाउँदा बढी नाफा लिन पाउँछन्।
अर्थात एक सिलिण्डर सटही गर्दा ३०० रुपैयाँसम्म बढी शुल्क लिने गरेका छन्। त्यसैले नेपाल ग्याँस अभाव देखाएर अन्य ब्राण्डको ग्याँस बेच्दै आएको हो। नेपाल ग्याँसको डिलरले सीधै अर्को ब्राण्डको बिक्री नगरे पनि विभिन्न खुद्रा पसललाई प्रयोग गरेर अन्य ब्राण्डको सिलिण्डर बेच्ने गरेको पाइएको छ।