काठमाडौं। चिनियाँ एआई च्याटबोड डीपसीकले समग्र अमेरिकी प्रविधि कम्पनीको सेयर बजारमा गिरावट ल्याएपछि यसको चर्चा चुलिएको छ। छोटो समयमा लोकप्रियता कमाएको डीपसीकले अर्बौं डलर खर्च गरेर बनाइएका कम्पनीको सेयरलाई ओरालो लगाएपछि यसको चर्चा संसारभर चुलिएको हो। जबकि, यसको विकासमा जम्मा ६० लाख अमेरिकी डलर खर्चमा मात्रै भएको हो।
विश्व बजारमा डीपसीकको प्रवेशले अमेरिकी चिप कम्पनी एभिडिआको सेयर मूल्यमा १७ प्रतिशतको गिरावट ल्याएको छ। जुन करिब ६०० अर्ब अमेरिकी डलर हो। यो अमेरिकाको इतिहासमा कुनै पनि कम्पनीले एकै दिनमा झेलेको सबैभन्दा ठूलो गिरावट हो। एआईमा प्रयोग हुने शक्तिशाली चिप बनाउने एभिडिआको सेयर मूल्यमा सोमबार मात्रै ६०० अर्ब डलरको गिरावट आएसँगै यसको चर्चाले थप उचाई लिएको छ।
अमेरिकी तथा विश्व एआई कम्पनीले भने यस च्याटबोडलाई चुनौतीका रुपमा लिएका छन्। सस्तो लागतमा बनेका कारण यसले २७ जनवरीमा समग्र वित्तीय बजार हलचल बनाउँदा प्रविधि कम्पनीले भरिएको अमेरिकी स्टक एक्सचेञ्ज (नास्ड्याक) तीन प्रतिशतले घट्यो। फोर्ब्सका अनुसार बजार पुँजीकरणको हिसाबले एनभिडिआ विश्वको सबैभन्दा मूल्यवान कम्पनी थियो।
यसको सफलताले उन्नत एआईका लागि ठूलो बजेट र अत्याधुनिक चिपसको आवश्यकता पर्ने विश्वासलाई कमजोर बनाएको छ।
तर, सोमबार यो कम्पनी एप्पल र माइक्रोसफ्टपछि तेस्रो स्थानमा झर्यो। यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट घटेर २.९ ट्रिलियन डलरमा सीमित हुन पुग्यो। हुन त, डीपसीकले एनभिडिआद्वारा निर्मित चिपको तुलनामा कम उन्नत सेमिकन्डक्टर चिपको प्रयोग गर्छ। यसको सफलताले उन्नत एआईका लागि ठूलो बजेट र अत्याधुनिक चिपसको आवश्यकता पर्ने विश्वासलाई कमजोर बनाएको छ।
यो घटनाक्रमले उच्च प्रदर्शन गर्ने चिपको भविष्य र यसको आवश्यकता सम्बन्धमा ठूलो अनिश्चितता उत्पन्न गरेको गर्यो। विश्वमा हाल चलिरहेका च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडलाई चुनौती दिने किसिमको मोडल डिपसिकले एकदमै कम लागतमा विकास गरेपछि लगानीकर्ता यसतर्फ आकर्षित हुने स्वभाविक थियो।
खासगरी, सिलिकन भ्यालीको ठूलो लगानीमाथि प्रश्न उब्जिएपछि एनभिडिआ र यही किसिमका प्रविधि कम्पनीबाट लगानीकर्ता बाहिरिने निष्कर्षमा पुगे। सेयर बजारमा डिमान्ड कम र सप्लाई बढी भएपछि समग्र अमेरिकी आईटी कम्पनीको सेयर मूल्य घटेर गयो। केही समयअगाडि मात्रै अमेरिकी सरकारले उन्नत चिप निर्यातमा कडाई गरेको थियो।
एकातर्फ, चिनियाँ कम्पनीले विकास गरेको शक्तिशाली चीपमा विश्वको सहज पहुँच हुने र अर्कोतर्फ, यसै कारण अमेरिकी चिप कम्पनीको व्यापार खुम्चिने देखिएपछि लगानीकर्ता अतालिएका हुन्। स्केल एआईका सीईओ अलेक्जेन्डर वाङले सीएनबीसीलाई बताएअनुसार निर्यात नियन्त्रणका बावजुद डिपसिक र अन्य चिनियाँ विकासकर्तासँग सिलिकन भ्यालीले सोचेभन्दा धेरै जीपीयू हुन सक्छन्। जसलाई लगानीकर्ताले विचार पुर्याएको देखिन्छ।
अहिले विश्वका शीर्ष कम्पनीले सामान्यतया आफ्ना च्याटबटलाई सुपर कम्प्युटर प्रयोग गरी १६ हजार चीप वा सोभन्दा बढी प्रयोग गर्ने तालिम दिन्छन्।
डीपसीकले आफ्नो नयाँ मोडेल ओपन एआई र गुगललगायत गुणस्तरीय तथा ठूला कम्पनीको जस्तै सेवा निकै कम लागतमा ल्याएको थियो। कम लागतमा सेवा पाउने भएपछि अमेरिकी प्रविधि कम्पनीको सेवा छोडेर मानिस यसतर्फ सिफ्ट हुनु स्वभाविक नै हो। तर, यसले कसरी टेक्नोलोजी निर्माण गर्यो भनेर व्याख्या गर्दै एउटा अनुसन्धान पत्रमा डीपसीकले भनको छ, ‘यसले कम्प्युटर चिप्सको एक अंश मात्र प्रयोग गरेको छ। जसलाई एआई कम्पनीले आफ्नो प्रणालीलाई तालिम दिन भर परेका थिए।’
अहिले विश्वका शीर्ष कम्पनीले सामान्यतया आफ्ना च्याटबटलाई सुपर कम्प्युटर प्रयोग गरी १६ हजार चीप वा सोभन्दा बढी प्रयोग गर्ने तालिम दिन्छन्। योभन्दा अगाडि बढेर डीपसिसका इन्जिनियरहरूले भने करिब दुई हजार चीपबाट नै सो काम हुने जनाएका छन्। यसरी, अन्य दर्जनौँ प्रविधि कम्पनीको तुलनामा कम लागतमा सेवा उपलब्ध गराउने भएपछि डीपसीकतर्फ आकर्षण बढेको हो।
फोर्ब्सका अनुसार जेन्सन हुआङको नेतृत्वमा रहेका विश्वका ५०० धनी व्यक्तिहरूले एकैदिन १०८ अर्ब डलर गुमाएका छन्। फोर्ब्सले उल्लेख गरेअनुसार एनभिदिया कर्पका सहसंस्थापक जेन्सन हुआङको सम्पत्ति २०.८ अर्ब डलरले, ओराकल कर्पका सहसंस्थापक ल्यारी एलिसनले २७.६ अर्ब डलरले, डेल इंकका माइकल डेलको सम्पत्ति १२.५ अर्ब डलरले घटेको छ। समग्रमा प्राविधिक क्षेत्रका दिग्गजले सामूहिक रूपमा करिब ९४ अर्ब डलर गुमाएको उल्लेख छ।
डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ’आर्टिफिशल इन्टेलिजेन्स’ कम्पनी हो।
यदि, डीपसीकको सेवा यस्तै रह्यो र अन्य प्रविधि कम्पनीप्रति विकर्षण बढ्दै गएमा अमेरिकीलगायत सोही प्रकृतिका कम्पनीको आम्दानी संकुचनमा जाने छ। डीपसीकप्रतिको आकर्षण कायम रहेमा अन्य कम्पनी सेयर थप ओरालो लाग्ने सम्भावना पनि उतिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको मात्रै नभएर जापानको टेक–हेवी निक्केई–२२५ टेक्नोलोजी क्षेत्रमा प्रमुख होल्डिङ भएको जापानी लगानी फर्म सफ्टबैंकको सेयरसमेत १.४ प्रतिशतले गिरावट आएको छ।
सफ्टबैंकको ८८ प्रतिशत स्वामित्व रहेको अमेरिकी सूचीबद्ध चिप डिजाइन कम्पनी आर्म होल्डिङ्स सोमबार १० प्रतिशतभन्दा बढीले घटेको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ’आर्टिफिशल इन्टेलिजेन्स’ कम्पनी हो।
यो कम्पनी सन् २०२३ को जुलाईमा घोषणा भएको थियो। तर यसको लोकप्रिय एआई एसिस्टेन्ट एप अमेरिकामा १० जनवरीसम्म सार्वजनिक नगरिएको ‘सेन्सर टावर’ले जनाएको छ। लियाङ वेनफङले आफैले सञ्चालन गरेको ‘हेज फन्ड’ अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डीपसीक स्थापना गरेका थिए।
इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्ने लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिआ ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ। चिनियाँ एआई प्रविधि डीपसिकप्रति धारणा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समग्र एआई कम्पनीमाथिको चुनौती भएको प्रतिक्रिया दिएका छन्।