काठमाडौँ। साढे दुई दशकअघि ठमेलबाट सुरु भएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोले कमलादीमा पाँचौँ आउटलेट सञ्चालनमा ल्याएको छ। स्काइवाक टावर परिसरमा सञ्चालनमा आएको स्टुडियो राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उद्घाटन गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा अधिकांश सेलिब्रेटीको रोजाइमा रहेको सैलुनको उद्घाटन गर्दै खड्काले गुणस्तरीय सेवालाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे।
करिब ५० लाख लागतमा सञ्चालनमा ल्याइएको सैलुनले हेयर, नेल, मेकअप, विभिन्न प्रकारका फेसियललगायत महिला र पुरुषका लागि सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा दिने लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोका संस्थापक लक्ष्मी ठाकुरले जानकारी दिए।
हाल काठमाडौं उपत्यकामा महाराजगञ्ज, पुलचोक र कलंकीको भाटभटेनी र कमलादीस्थित स्काइवाकमा रहेको सैलुनको आउटलेट अब राजधानी बाहिर पनि खोल्ने योजना रहेको लक्ष्मीले बताए। ठमेलबाट सुरु गरेको पहिलो आउटलेट भने अहिले सञ्चालनमा छैन।
ग्राहकको मागअनुसार आउटलेट थप गरेको उनको भनाइ छ। सैलुनअन्तर्गत हेयर, ब्युटी तथा मेकअप र नेल स्पाको तालिम समेत सञ्चालन गरिरहेको लक्ष्मीले बताए।
एसएलसीपछि पढाइसँगै काम गर्ने सिलसिलामा जनकपुरबाट मुम्बई पुगेका लक्ष्मीले सैलुनको काम सिकेका थिए। लक्ष्मीले विदेश जाने चक्करमा मेनपावरमा फसेको पैसा उठाउन काठमाडौं बस्दा सुरु गरेको पेसा व्यवसाय हुँदै अहिले साढे दुई दशकमा विभिन्न आउटलेट र सौन्दर्य प्रशाधन उत्पादनसम्म पुगेको हो।
सैलुनकै व्यवस्थापकले व्यापार विस्तार गरी उत्पादनमासमेत जोडिएको यो पहिलो उदाहरण भएको लक्ष्मीको भनाइ छ। हाल उनको टोलीमा सेवा र उत्पादन गरी करिब १ सय जना रोजगारीमा जोडिएका छन्।
हेयर एण्ड ब्युटी दुवैमा पोख्त लक्ष्मीले २०७४ सालमा लक्ष्मी हर्बल कम्पनी स्थापना गरी सौन्दर्य प्रशाधनका सामग्री पनि उत्पादन गर्दै आएका छन्। कम्पनीले पुरुषको कपालमा बिना जेल स्टाइल गर्न मिल्ने स्टाइलिङ पाउडर, फेस सिरम, हेयर सिरम, फेस वास र मेहेन्दी उत्पादन गर्दै आएको छ।