काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपल्ट शीतलनिवासमा दीप प्रज्वलन गरी सोनाम ल्होछारको शुभारम्भ गरेका छन्। आज बिहान लामा गुरु, ताम्बा र बोम्बोको अभिषेकापछि राष्ट्रपति पौडेलले सोनाम ल्होछार २८६१ को शुभकामना दिएका हुन्।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।
विभिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको पौडेलको भनाइ थियो।
चन्द्रपात्रोअनुसार माघ १७ गते ड्रुक अर्थात् ड्रयागन वर्गको बिदाइ र डुल सर्प अर्थात वर्ग लाग्दै छ। ल्होछार तामाङ समुदायको नयाँ वर्ष हो।
पूजापाठ कार्यक्रममा ल्होछार मूल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखाले कार्यक्रम आयोजना गरेकामा धन्यवाद दिए।
’इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखाले पूजापाठ गरेर राष्ट्रपतिले अपनत्व लिनुभएको छ। यसले निरन्तरता पाउने आशा गरेको छु,’ तामाङ घेदुङका अध्यक्षसमेत रहेका गोलेले भने।
राष्ट्रपति कार्यालयले पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघ–संस्थाका प्रतिनिधि सहभागी थिए।
तामाङ समुदायले आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा ल्होछार मनाउँदै छ। ल्होछार मूल आयोजक समितिले भने भोलि सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ।