काठमाडौं। जोगवनी नाकादेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ।
संखुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।
खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्तांगादेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्रयाक खुलाएसँगै आज संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो।
उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो। उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोसी राजमार्गको ट्रयाक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम हुनेछ।
यसअघि उक्त सडक ब्रेक थ्रु गर्न मन्त्री खड्काले निरन्तर पहल गर्दै आएको थियो। उनले गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएको थियो।
कार्यक्रममामन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बंगलादेशले फाइदा लिन सक्ने उल्लेख गरे।
सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए। किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको बताए। उनले समयअगावै सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएकामा नेपाली सेनालाई धन्यवाद दिए।
मन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडक खण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिइने बताए। उनले उक्त सडक खण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे।
भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए। ‘सडक ब्रेक थ्रुसँगै भोटखोला, संखुवासभा र सिंगो मुलुकका लागि सुनौलो दिनको सुरुआत भएको छ’, उनले भने।
कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतिबारे जानकारी गराएको थियो। सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेकाले बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने बताएको छ।–रासस