काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि सुरु हुने भएको छ।
अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एन्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक चेम्बर जनाएको छ।
चेम्बर मेलामा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ। सूचना प्रविधि विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रुपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्टको स्टलका रुपमा रहनु सबैभन्दा महत्त्वपूर्ण हुने अध्यक्ष अग्रवालले बताए।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयर प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समिति सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए।
चेम्बर सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले एक्स्पोमा यो पटक आईटी उत्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए।
विगतझैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरायसी सामग्री, लजिस्टिक, टेक्सटायल, फर्निचर, गार्मेन्ट, छालाका सामग्री, गरगहनाका सामग्री, कस्मेटिक्स, फुड एन्ड डेरी उत्पादनलगायत सामग्री प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो आकर्षण बन्न सक्ने विश्वास गरिएको छ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीले सहभागिता जनाउनेछन्।
स्वदेशी र विदेशी गरी १२५ बढी स्टलहरु एक्स्पोमा राखिनेछन्। ५ दिन सम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने मेला समिति संयोजक चाकुबजीले बताए।
चेम्बर मेलामा ब्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिंक तथा एजुकसशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज, सनवे कलेज रहेका छन्।
अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पो व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपालले जनाएको छ।