काठमाडौं। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ। मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको ५ दशमलव ८३ प्रतिशत अर्थात् २ अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ।
जसमा पुँजीगततर्फ १ दशमलव ३३ प्रतिशत तथा चालुतर्फ १३ दशमलव ५३ प्रतिशत खर्च भएको छ। मधेस सरकारले चालुतर्फ १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार र पुँजीगततर्फ २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार गरी कुल ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो।
मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत छ महिनामा मुख्यमन्त्री कार्यालयको ४ करोड ७५ लाख, अर्थ मन्त्रालयको ४ करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको ७ करोड ९९ लाख खर्च भएको छ।
त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मन्त्रालयको तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको ३८ करोड तीन लाख खर्च भएको उल्लेख छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको ७ करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५७ करोड ६१ लाख बजेट खर्च भएको जनाइएको छ।
राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन्।
जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमी कमजोरीले बजेट खर्चमा समस्या देखिएको बताए। बजेट खर्चका लागि प्रदेश सरकारले संकल्प प्रस्तावसमेत पारित गरेको छ।