काठमाडौं। अमेरिकाले सबै वैदेशिक अनुदान रोक्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा देखापर्ने भएको छ। अनुदानमार्फत सञ्चालनमा रहेको परियोजना तीन महिनासम्म बन्द हुँदा त्यसको प्रभाव होटल र एयरलाइन्स क्षेत्रमा देखिने भएको हो।
अर्थ मन्त्रालयको अनुसार नेपालमा सञ्चालित अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग(युएसआईडी)को सम्पूर्ण कार्यक्रम रोकिएको छ। युएसआईडीको अधिकांश कार्यक्रम तारे होटल तथा रिसोर्टमा हुने गरेको थियो। तीन महिनासम्म परियोजनाको काम पूर्ण रुपमा बन्द हुँदा अब ती होटल तथा रिसोर्टमा हुने कार्यक्रमसमेत हुने भएको छ।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले अमेरिकी सहायता रोकिँदा नेपालको सिंगो पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गर्ने बताए। अमेरिकन सहयोगमा सञ्चालनमा रहेका अधिकांश परियोजनाका कार्यक्रम तारे होटल तथा रिसोर्टमा हुने गरेकोमा त्यो सबै रोकिने उनको भनाइ छ।
अमेरिकन परियोजनाको निरीक्षण, अनुगमनका लागि आउने अधिकांश अमेरिकन चेन होटलमै बस्ने गरेका थिए। सहायता रोकिँदा निरीक्षण अनुमनमा आउने बन्द भए। अन्य परियोजनाका लागि आउनेको संख्यासमेत घट्ने छ।
अहिले काठमाडौंमा सञ्चालित अधिकांश पाँच तारे चेन होटल अमेरिकन ब्राण्डको रहेको छ। म्यारियट, हायात रिजेन्सी, हिल्टन, र्याडिसन, हायात सेन्ट्रिक, अलफ्ट, रमडालगायतका ब्राण्ड अमेरिकन हो। अमेरिकामार्फत सञ्चालनमा रहेका अधिकांश परियोजनाको कार्यक्रम तीनै चेन होटलमा हुने गरेको थियो।
बढ्दो अमेरिकनको आगमनलाई मध्यनजर गर्दै धमाधम अमेरिकी चेन होटलको प्रवेश नेपालमा भइरहेको बेला एक्कासी अनुदानमा सञ्चालित परियोजना बन्द हुँदा त्यस प्रभाव पर्यटन क्षेत्रमा परेको देखिन्छ।
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले अमेरिकी सहायता रोकिँदा होटल क्षेत्रको २० प्रतिशत बिजेनश डाउन हुने बताए। ‘सञ्चालित परियोजना मात्र हैन, नयाँ परियोजनाको सम्भाव्यता अध्ययनका लागि समेत ठूलो संख्यामा अमेरिकन नेपाल आउने गरेका थिए,’ सञ्चालक अग्रवालले भने, ‘उनीहरूको बसोबास भनेको चेन होटलमै हो। अब त्यो पूर्ण रुपमा रोकियो।’
परियोजना अनुमन तथा निरीक्षणका लागि आउने अनुगमन टोली महिनौँसम्म होटलमा बास हुने गरेको थियो। सरकारले तीन महिनापछि पुनः सञ्चालनमा ल्याउने गरी कुटनीतिक रुपमा अमेरिकासँग पहल गर्नुपर्ने सञ्चालक अग्रवालको भनाइ छ। एउटा सहायता रोकिँदा त्यसको प्रत्यक्ष असर किसानसम्मलाई हुने भएकाले कुटनीतिक सम्बन्ध बलियो बनाउन सरकार र राजनीतिक दल लाग्नुको विकल्प नभएको उनले बताए।
अमेरिकाले विश्वभर सहायता दिने मुलुकमध्ये नेपाल १६ औँ स्थानमा छ। युएसआईडीमार्फत मात्र नेपालमो झण्डै ६६ करोड अमेरिकी डलर (८० अर्ब रुपैयाँ) सहयोग गर्ने सम्झौता भएको थियो। युएसआईडीको सहयोगमा स्वास्थ्य प्रत्यक्ष वित्तपोषण परियोजना, कृषि प्रत्यक्ष वित्तपोषण परियोजना, शिक्षा प्रत्यक्ष वित्तपोषण परियोजना र समावेशी नीति प्रत्यक्ष वित्तपोषण परियोजना रहेका छन्।
नेपालमा अमेरिकी पर्यटक अधिक
सन् २०२४ मा नेपालमा आउने पर्यटकमध्ये भारतपछि अमेरिका बनेको थियो। अमेरिकाबाट २०२४ मा १ लाख ११ हजार २१६ जना आएका थिए। सोही मुलुकबाट सन् २०२३ मा १ लाख ३५७ जना आएको तथ्यांक बोर्डसँग छ।
विभिन्न परियोजना सञ्चालनमा रहँदै गर्दा धेरै अमेरिकन नेपाल आउने गरेका थिए। भारतबाट ३ लाख १७ हजार ७७२ जनाा पर्यटक नेपाल आएका छन्। चीनबाट १ लाख १ हजार ८७९ जना आएका छन्।