काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित माघ १७ देखि २१ गतेसम्म प्रदर्शनी हुने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरणका साथै व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ थियो। सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणमा सफ्टवेयर र एआई प्रोजेक्ट स्टल रहने उनको भनाइ थियो।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए। व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए।
मेलामा विगतमा जस्तै कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, विद्युतीय सामाग्री, फर्निचरका सामान, गहनाका सामाग्रीलगायत विभिन्न उत्पादन प्रदर्शन हुने जनाइएको छ।
चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रर्दशनी र व्यवसायीले सहभागिता जनाउने छन्। स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा राखिने छन्। ५ दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकका मेला समिति संयोजक चाकुबजीले बताए।