काठमाडौं। बैंकहरु खुलेआम सम्पत्ति शुद्धीकरण गर्न लागेपछि गभर्नर महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि डाकेका छन्।
विगत केही दिनदेखि सम्पत्ति शुद्धीकरण गरेका बैंकहरुलाई केन्द्रीय बैंकले कारबारही गरेपछि पार्क भिलेजमा छलफलका लागि बोलाएका हुन्। सम्पत्ति शुद्धीकरणका मामलामा बैंकहरु सजग नभएको र नियामकीय प्रावधान अनुपालन गरेको रिपोर्ट बाहिरिरहेका बेला गभर्नर अधिकारीले प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएका हुन्।
गभर्नर अधिकारीले बोलाएको छलफल अधिकांश वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत छन्। केन्द्रीय बैंककातर्फबाट वित्तीय जानकारी इकाइका निर्देशक बासुदेव भट्टराईले एएमएल÷सिएफटीसम्बन्धी प्रस्तुतिकरण दिएका थिए।
राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षणले गर्ने नियमित स्थलगत निरीक्षण, लक्षित निरीक्षण, विशेष तथा सुक्ष्म निरीक्षण र गैरस्थलगत निरीक्षणका क्रममा भेटिएका विषयमा तयार प्रतिवेदनले नेपालको बैंकिङ प्रणालीमा बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनकै कारण दिन प्रतिदिन जोखिम बढ्दै गएको केन्द्रीय बैंकको बुझाइ छ।
वाणिज्य बैंकहरुमा तरलता जोखिम, कर्जा जोखिम, व्यवस्थापन जोखिम, लेखा परीक्षकको काम तथा नियुक्ति प्रकृया, सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्मचारी व्यवस्थापन, बजार व्यवस्थापन, एएमएलरसिएफटी लगायत संस्था व्यवस्थामा बैंकहरुले अत्यधिक त्रुटी गरेको राष्ट्र बैंकको ठहर छ।