काठमाडौं। माघ १३ गते सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६४३.९३ विन्दुमा हुँदा जलविद्युत् समूहको सूचक ३७२६ विन्दुमा छ। करिब साढे पाँच महिनाअघि २०८१ साउन ३१ गते नेप्से परिसूचक २०७८ यताकै उच्च अर्थात् ३०००.८१ विन्दुमा हुँदा जलविद्युत् समूह सूचक ३८०९ विन्दुमा थियो। यो बीचमा नेप्से १३.५० प्रतिशतले घट्दा जलविद्युत् समूह २.३० प्रतिशतले मात्रै घटेको छ। जुन अन्य सबै समूहको तुलनामा कम हो।
साउन ३१ यता जीवन बिमा समूहमा १३.२५ प्रतिशत, निर्जीवन बिमा समूहमा १३.०८ प्रतिशत, उत्पादन समूहमा १५.२५ प्रतिशत, होटल तथा पर्यटन समूहमा १३.९९ प्रतिशत र विकास बैंक समूहमा ३ प्रतिशतको गिरावट आएको छ। लघुवित्त समूहमा ९.७२ प्रतिशत, व्यापार समूहमा ४.७७ प्रतिशत, फाइनान्स समूहमा ५७.५८ प्रतिशत, बैंकिङ समूहमा २५.८६ प्रतिशत र लगानी समूहमा २०.७९ प्रतिशतको संकुचन आएको छ।
खासगरी, कुनै समय दीर्घ कालीन (लङटर्म) लगानीका लागि रोजाइमा पर्ने बैंकिङ समूह निरन्तर कमजोर हुँदै गइरहेको छ। बैंकले लगानीकर्तालाई प्रदान गर्ने प्रतिफल नगन्य मात्रामा छ। अर्कोतर्फ, फाइनान्स र विकास बैंकको वित्तीय अवस्था नाजुक स्थितिमा छ। यस्तो, अवस्थामा जलविद्युत् समूह लगानीकर्ताको रोजाइमा पर्दै गएको हो। करिब एक वर्षअघि अर्थात् २०८० माघ १४ गते नेप्से २०९४ मा हुँदा जलविद्युत् इन्डेक्स २६२४ विन्दुमा थियो।
२०८१ वैशाख २७ मा नेप्से १९६६ विन्दुमा हुँदा जलविद्युत् इन्डेक्स २३५२ विन्दुमा थियो। ०८१ असार २४ मा नेप्से २१३६ विन्दुमा हुँदा जलविद्युत समूह २५९५ विन्दुमा र ०८१ असोज २० मा नेप्से २६५३ विन्दुमा हुँदा २९५७.०४ विन्दुमा थियो। हाल, बजारमा अन्य समूहको तुलनामा जलविद्युत् समूहले दरिलो बन्दै आएको छ। आगामी दिनमा पनि जलविद्युत् समूहप्रतिको आकर्षण बढेर जाने तर्क लगानकर्ताको छ।
नेप्से परिसूचक र जलविद्युत् समूहको मूल्य उतारचढाव
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेकाले लगानीकर्ताको आकर्षण बढ्दै गएको बताउँछन्। ‘जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ। कर्पोरेट करहरू पनि कम छ। यो क्षेत्र सर्टटर्मका लागि पनि उपयुक्त मानिने भएकाले बजारमा माग भइरहन्छ,’ अध्यक्ष पाण्डे भन्छन्, ‘समग्रमा हेर्दा लङटर्मका लागि पनि जलविद्युत् क्षेत्र राम्रो विकल्पको रुपमा देखा परेको छ।’
पाण्डेले अहिले पनि जलविद्युत्मा ‘लो क्याप’ भएका कम्पनी धेरै भएको बताए। हुन त, पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा जलविद्युत् क्षेत्र पर्दै आएको छ। यस क्षेत्रको विकास र विस्तारका लागि निरन्तर काम हुँदै आएको छ।
केही समयअगाडि मात्रै सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने मार्गचित्र बनाएको छ। सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत उत्पादन गरी १५ हजार निर्यात गर्ने लक्ष्य छ।
मन्त्रिपरिषद्ले पारित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८९/९० सम्ममा विद्युत खरिद सम्झौता सम्पन्न भएका आयोजनाहरूबाट ५ हजार ८७३ मेगावाट विद्युत खरिदको प्रक्रियामा छ। यी आयोजनाहरूबाट २०५, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाहरूबाट ३ हजार १०८, कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाहरूबाट ५ हजार ६४८ उत्पादन हुने प्रक्षेपण गरिएको छ।
यस्तै, जलविद्युतकै लागि नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ। यसले १० वर्षभित्र नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने बाटो सुनिश्चित गरेको छ। यसका साथै, नेपालमा उत्पादित विद्युतका लागि निर्यातको बाटो खुलेको छ।
सरकारको बजेट, आर्थिक विकास र उत्पादनका नीति, मुलुक समृद्धिको आधारलगायतका धेरै विषयमा जलविद्युत् प्राथमिकतामा पर्दै आएको छ। सरकारको प्राथमिकतामा परेकाले आगामी दिनमा यस क्षेत्र राम्रो हुने र लगानीकर्तालाई राम्रो प्रतिफल दिनसक्ने स्थितिमा पुग्ने आँकलन धेरैले गरेका छन्।
हालको जलविद्युत् कम्पनीहरूले दिने प्रतिफल न्यून भए पनि आगामी दिनमा यस क्षेत्रको सम्भावना राम्रो रहेको विज्ञहरूको् तर्क छ। यसले पछिल्लो समय लगानीकर्ताले जलविद्युत् समूहलाई आफ्नो लगानीको सुरक्षित देखेका छन्।
समूह समूहगत सूचक परिवर्तन प्रतिशत
यद्यपि, हाल जलविद्युत् कम्पनीको प्रतिफल स्थिति सन्तोषजनक देखिँदैन। पुस मसान्तसम्म नेप्सेमा सूचीकृत ९१ जलविद्युत् कम्पनीमध्ये २१ वटाले मात्रै गत वर्षको आम्दानीबाट लगानीकर्तालाई प्रतिफल दिने घोषणा गरेका छन्। लगानीकर्तालाई प्रतिफल वितरण गर्ने जलविद्युत् कम्पनीमा नेपाल हाइड्रो डेभलपर, राधी विद्युत, रुरु जलविद्युत परियोजना, साहस ऊर्जा, सानिमा माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर छन्।
भगवती हाइड्रोपावर, विन्दाबासिनी हाइड्रोपावर, बुटवल पावर, चिलिमे हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर, कालिका पावर, मन्दाकिनी हाइड्रोपावर, सुपरम हाइड्रोपावर, युनाइटेड इडी मार्दी एण्ड आरबी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, अरुण भ्याली हाइड्रोपावर र अपि पावरले आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्।