काठमाडौं। संसद् छलेर पाँच अध्यादेश ल्याएपछि विवादमा परेको सरकारलाई ढाडस दिन सत्तारुढ नेपाली कांग्रेस र एमालेले संसदीय दलका बैठक बसाइरहेका छन्। कांग्रेस बैठकले शनिबारदेखि जारी छ भने एमालेको बसिरहेको छ।
सत्तारुढ कांग्रेस र एमालेभित्र पछिल्लो समय अध्यादेश प्रकरण, विभिन्न मन्त्रीहरुका विवादित घटना, एमालेभित्रै पार्टी नेताहरुमाथि भइरहेको अनुशासनको डन्डा, कांग्रेसभित्र जलस्रोतमन्त्री दीपक खड्का, सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङलाई सुनपानी छर्किएको घटनालगायतमाथि नागरिक स्तर र सञ्चार माध्यमले औंला ठड्याइरहेका छन्।
राजनीतिक रुपमा सरकारसँग स्पष्ट बहुमत भए पनि विवादित घटनामा आफ्ना मान्छे जोगाइन थालेपछि सत्तारुढ दलका नेताहरुप्रतिको विश्वासमा संकट देखिन थालेको छ।
आगामी माघ १८ देखि बोलाइएको हिउँदे अधिवेशन लक्षित कांग्रेस/एमाले बैठक जारी रहेकै बेला आज प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षीय राजनीतिक दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो।
बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम–कारबाहीबारे छलफल हुनेछ।
शनिबारदेखि सुरु कांग्रेस संसदीय दल बैठक।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति र जनमत पार्टी रहेका छन्। सत्तारुढ दलभित्रै जनमत पार्टी सरकारका काम–कारबाहीलाई लिएर असहमत हुँदै अध्यक्ष सीके राउतका विभिन्न टिप्पणीले देखाएका छन्।
संसद् अधिवेशनको पूर्वतयारीस्वरूप सरकार समर्थक दलहरूले सदनलाई व्यवस्थित मर्यादित र परिणाममुखी बनाउने गरी छलफललाई व्यापकता दिएका छन्। अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सभामुख देवराज घिमिरेले सदनलाई प्रभावकारी बनाउने विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकसँग छलफल गरेको सभामुखको सचिवालयले जानएको छ।
आजै बिहान ११ बजे प्रमुख ५ दलका मुख्य सचेतकसँग छलफल राखिएको छ भने माघ १५ गते मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समिति बैठक डाकिएको छ। विधेयक रहेका संसदीय समितिका सभापतिसँग समेत सभामुखले अलग–अलग संवाद गरिरहेको सत्तारुढ एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी बताए।
आगामी संसद् अधिवेशनमा एकढिक्का भएर जनताका मुद्दा उठाउन सभापति शेरबहादुर देउवाले सांसदलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने तय भएको छ।
‘सरकारले पछिल्लोपटक ल्याएका अध्यादेशबारे आइतबार विज्ञहरूले बैठकमा प्रकाश पारे। आज पनि सांसदले बोल्ने र नेताहरूले जवाफ दिने कार्यतालिका छ’, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने। हालै जारी भएका अध्यादेश ६० दिनभित्र अनुमोदन गर्नुपर्ने भएकाले पारित गर्न सत्तारुढ दलले सभामुखसँग आग्रह गरेका छन्।
हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारले हालै ल्याएको अध्यादेश, रवि लामिछाने प्रकरणलगायत विषयमा सोधीखोजी गर्ने योजना बनाएको छ। देश दौडाहामा रहेका बेला अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई गिराउने काममा नलागे पनि पछिल्लो समयका घटनाको जवाफ मागिने बताइसकेका छन।
माओवादी सांसद माधव सापकोटाले हिउँदे अधिवेशनमा सदनलाई प्रतिपक्षको झल्को दिने गरी प्रस्तुत हुने प्रतिक्रिया दिए।