काठमाडौं। बजारमा नेपाल ग्याँसको कृतिम अभाव देखाएर डिलरले अर्कै ब्राण्ड बिक्री गर्दै आएको पाइएको छ। केही महिनादेखि नेपाल ग्याँसका ग्राहकलाई ग्याँस अभाव देखाउँदै डिलरले भिन्न‑भिन्न ब्राण्डको सिलिण्डर बिक्री गर्दै आएको पाइएको हो।
नेपाल ग्याँसका कार्यकारी निर्देशक गोकुल भण्डारीले बजारमा पर्याप्त मात्रामा ग्याँस पठाइरहेकाले कुनै अभाव नभएको बताए। ‘हामीले बजारबाट जति माग आयो। त्यति पठाइरहेका छौँ,’ कार्यकारी निर्देशक भण्डारीले भने, ‘डिलरले किन अभाव भनेर ग्राहकलाई फिर्ता पठाउँछ? त्यो थाहा भएन, हामीसँग पर्याप्त छ।’
बजारमा नेपाल ग्याँस अभावको गुनासोपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले नेपाल ग्याँसका कार्यकारी निर्देशक भण्डारीसँग सोधखोजसमेत गरेका थिए। कार्यकारी निर्देशक भट्टसँगको भेटमा समेत नेपाल ग्याँस मागअनुसार पर्याप्त मात्रामा पठाएकाले उद्योगतर्फबाट कुनै अभाव नभएको जानकारी गराएका थिए।
निगमका प्रवक्ता मनोज ठाकुरले पनि बजारमा ग्याँसको अभाव नभएको बताए। हामीले विभिन्न ठाउँमा अनुगमन गर्दा ‘नेपाल ग्याँसको अभाव देखिएको छैन’, प्रवक्ता ठाकुरले भने, ‘हामी फेरि पनि अनुगमन गर्छौं, कृतिम अभाव देखाएको भए कारबाही गर्छौं।’
दसैँ र तिहारको बेला भारतमा ग्याँस लोडिङमा केही समस्या आएको भए पनि अहिले सामान्य भइसकेकाले कुनै पनि बहानामा अभाव देखाएर अर्को कम्पनीको ग्याँस दिनु गलत भएकाले अनुगमनलाई तीव्रता दिने प्रवक्ता ठाकुरको भनाइ छ। अहिले निगमले जति माग आएको छ त्यति नै लोड गरिरहेको उनले बताए।
ग्याँस बिक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले डिलरले कृतिम अभाव नदेखाएको स्पष्टीकरण दिए। ‘उद्योगबाटै पर्याप्त ग्याँस नआउँदा बजारमा अभाव देखिएको हो,’ पूर्व अध्यक्ष थापाले भने, ‘निगमकै ग्याँस ढुवानीकर्ताले0 पर्याप्त मात्रामा ग्याँस नल्याएकाले अभाव देखिएको हो।’
जाडो मौसम भएकाले अन्य समयभन्दा अहिले ग्याँसको माग ह्वात्तै बढ्दा अभाव देखिएकाले अब विस्तारै सामान्यतर्फ गइरहेको उनको भनाइ छ।
डिलरले किन बेच्छन् अर्को ब्राण्ड?
अन्य ग्याँसको तुलनामा नेपाल ग्याँसका ग्राहक धेरै छ। त्यही तुलनामा डिलर पनि बढी छन्। नियमित सिलिण्डर बेच्दा सिमित मात्र डिलरले नाफा लिन पाउछन्। तर, ब्राण्ड नै परिवर्तन गरी अर्को सिलिण्डर बेच्न पाउँदा पनि केही बढी नाफा लिन पाउछन्। अर्थात एक सिलिण्डर सटही गर्दा ३०० रुपैयाँसम्म बढी शुल्क लिने गरेका छन्।
त्यसैले नेपाल ग्याँस अभाव देखाएर अन्य ब्राण्डको ग्याँस बेच्दै आएका छन्। नेपाल ग्याँसको डिलरले सीधै अर्को ब्राण्डको बिक्री नगरे पनि विभिन्न खुद्रा पसललाई प्रयोग गरेर अन्य ब्राण्डको सिलिण्डर बेच्ने गरेको पाइएको छ।
अहिले नेपाल ग्याँस लिनलाई न्यूनतम १० देखि १५ दिनसम्म पालो कुर्नुपर्ने हुन्छ। यसरी पालो कुर्नुको साटो केही रकम थपेर भए पनि अर्को ब्राण्डको लिनेको संख्या धेरै छ। हेर्दा सामान्य रकम लागे पनि उपभोक्ताले अतिरिक्त शुल्क तिर्न बाध्य भइरहेको उपभोक्तावादीहरूको भनाइ छ। अहिले नेपाल ग्याँसको सट्टा सगर ग्याँस बढी मात्रामा डिलरले बिक्री गरिरहेका छन्।