काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार वृद्धि हुन थालेको छ। केही वर्षदेखि घटेको घरजग्गाको कारोबारमा करिब २० प्रतिशत मूल्य घटेपछि पुनः सुरु हुन थालेको हो।
कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्था सुधार भएसँगै काठमाडौं उपत्यका घरजग्गाको कारोबार बढ्न थालेको हो। कोरोना महामारीको सुरुवाती समय अर्थात २०७९ मा आइपुग्दा घरजग्गा व्यवसायमा मन्दी छाएको थियो। कोरोना भाइरस संक्रमणको दुई वर्षमा घरजग्गा कारोबार ५० प्रतिशतभन्दा बढीले घटेको थियो।
कोभिड संक्रमण फैलनुअघिसम्म घरजग्गाको कारोबार बढ्दा आकासिएको मूल्य केही वर्ष स्थिर बनेको थियो। ०७७ मंसिरमा ६१ हजार ४५१ लिखत पारित भएकोमा ०७९ मंसिरसम्म आइपुग्दा ५२.५१ प्रतिशतले घटेर २९ हजार १८४ वटा मात्रै लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा देखाएको छ।
तर, लामो समयसम्म ‘होल्ड’ गरेर बसेको घरजग्गा व्यवसायीले पनि आफ्नो आवश्यकता परिपूर्ति गर्न मूल्य घटाएर कारोबार सुरु गर्न थालेको नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीले बताए।
‘३ वर्षअघिको तुलनामा औसतमा घरजग्गाको मूल्य २० प्रतिशतले घटेको छ। यसरी मूल्य घटाउने भनेको बैंकको ऋण तिर्नुपर्ने आधारभूत आवश्यकता घरजग्गा बिक्री गरेर पूरा गर्नुपर्ने छन्,’ महासंघका पूर्वअध्यक्ष लोहनीले क्यापिटल नेपालसँग भने, ‘मूल्य घटेसँगै पछिल्लो समय कारोबार अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। तर, उपत्यकाभित्र सस्तोमा वा एक करोड मूल्य हाराहारीमा घरजग्गा बिक्री गर्ने व्यवसायीले नभएर व्यक्तिगत रुपमा मात्रै भएको पाइन्छ।’
काठमाडौं उपत्यकाभित्रै १ करोड मूल्य हाराहारीमा राम्रो ठाउँमा वा व्यवसायिक स्थानमा घरजग्गा पाउन घरजग्गा धनी आर्थिक समस्यामा परेको हुनुपर्ने उनको भनाइ छ।
महासंघ व्यवसायिक रुपमा घरजग्गा तथा आवास खरिदबिक्री गर्ने व्यवसायीहरूको संस्था हो। संस्थामा आबद्ध व्यवसायीहरूले १ करोड मूल्यको घरजग्गा व्यवसाय नगरे पनि उपत्यकाभित्र व्यक्तिगत रुपमा घरजग्गा धनीसँग सम्पर्क गरेर कारोबार गरिरहेको पाइन्छ।
काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका ‘काठ क्षेत्र’ सस्तो मूल्यमा घरजग्गा पाइने भएको हो। यी क्षेत्रमा ७० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म २ देखि ७ आनामा बनेको घर बिक्रीमा राखेको पाइन्छ।
घरजग्गा खरिद बिक्री गर्ने विकल्प राखिएको विभिन्न अनलाइन तथा वेवसाइट र घरजग्गा व्यवसायीले दिएको सूचनाका आधारमा हामीले काठमाडौं उपत्यकाका केही स्थानमा हाल बिक्रीमा राखिएको १ करोड मूल्य हाराहारीको घरजग्गाबारे अध्ययन गरेका थियौँ।
घरजग्गा नेपाल, आवास बिक्री केन्द्र नेपाल, हाम्रो बजार डटकम, सस्तो घरजग्गा बिक्री केन्द्र नेपाल, घरबारी नेपाल, घरजग्गा काठमाडौं, घरजग्गा कारोबार नेपाल, नेपाल अनलाइन घरजग्गालगायत घरजग्गा कारोबार गर्ने कम्पनीहरूले उनीहरूको अफिसियल पेजमा राखेको सूचनाको आधार बनाएका थियौँ। जसमा काठमाडौं उपत्यकाभित्रै एक करोड मूल्य हाराहारी बजेटको आफूलाई घरजग्गा किन्न सकिने देखिन्छ।
पछिल्लो दिनमा आफ्नो आवश्यकता पूरा गर्न उपत्यकामा भित्रिन मानिसको संख्या बढिरहेको छ। विदेशमा गएका मानिसहरूसमेत काठमाडौं उपत्यकामा घरजग्गा किन्न चाहना राख्दै आएका छन्।
पछिल्लो समय मानिसले आफ्नो कमाईको ठूलो हिस्सा घरजग्गामा लगानी गर्न थालेसँगै उपत्यकामा मूल्य बढ्न थालेको हो। यसका साथै ग्राहकहरूले १ करोडदेखि डेढ करोड मूल्यसम्ममा घर खरिद गर्न सक्ने भएका हुन्। जुन यी स्थानमा पाइन्छः
मूलपानी, काठमाडौं
उपत्यकामाभित्र रहेको सबै सेवासुविधा सम्पन्न मानिएको मूलपानीमा बस्ने मानिसको संख्या निकै बढ्दो रहेको छ। यातायातको सुविधा भएको मूलपानीमा जग्गाको मुल्य निकै महंगो छ। मूलपानीमा बस्न चाहनेले १ करोड २० लाख रुपैयाँमा ३ तलाको घर किन्न सक्ने छन्। उक्त घर ३ आना जग्गामा बनेको छ। बाटो २० फिट रहेको छ भने पार्किङको सुविधा छ।
यस्तै, काठमाडौंको आकाशे धारामा जग्गाको मूल्यमा घर बिक्रीमा राखेको छ। जम्मा ६० लाखमा रुपैयाँमा साढे दुई तलाको घर रहेको रियल स्टेटका कर्मचारी बताउँछन्।
माकलबारी, जोरपाटी
सामान्यतया जोरपाटीमा जग्गाको मूल्य प्रतिआना १५ लाखभन्दा माथि पर्न आउँछ। यदि, ग्राहकसँग थोरै बजेटमा घर खरिद गर्ने सोच भए जोरपाटी माकलबारीमा १ करोड १० लाख रुपैयाँमा घर पाउने छ। हामीले फेला पारेको घर ३ आना जग्गामा बनेको थियो।
सातदोबाटो, ललितपुर
सातदोबाटोमा जग्गाको मूल्य २० लाखभन्दा माथि रहेको छ। सातदोबाटोको विष्टछाप बसपार्कदेखि दुई सय मिटरभित्र रहेको एक घरको मूल्य ९५ लाख रुपैयाँमा उपलब्ध छ। उक्त घर २ आना २ पैसामा बनेको छ।
गोदावरी, ललितपुर
ललितपुरको गोदावरी भिलेजदेखि ४ सय मिटरअगाडि सात दोबाटो बाट ५.५ किलोमिटरभित्र सस्तोका जग्गा पाउने गरेको छ। बिजुली, ढललगायतको सुविधा भएको यहाँ १६ देखि २० फिटको बाटोमा सस्तोमा जग्गा पाउने भएको हो। यस क्षेत्रमा प्रतिआना १२ लाख रुपैयाँ जग्गा पाउने गरेको छ।
टोखा, काठमाडौं
टोखामा बनेको एउटा घरको मूल्य १ करोड रहेको छ। २० फिटको बाटो रहेको उक्त घर २.५ आनामा बनेको रियल स्टेट व्यवसायीले जनाएको छ। यस क्षेत्रमा तुलनात्मक रुपमा सस्तोमा घरजग्गा पाउने गरेको छ।