काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कामसँगै समस्यालाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन्।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्या समाधान गर्न एकपछि अर्को काम गर्न आवश्यक भएको बताएका हुन्।
राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिसहित बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए।
बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजारलगायतका विषयमा छलफल भएको थियो। बैठकमा अर्थतन्त्रका मुद्दामा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा आपसमा समन्वय बढाउनेबारे छलफल भएको थियो।