काठमाडौं। सेयर बजारमा १०.४१ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से ११.१० अंकले घटेको थियो। त्यसअघिका चार कारोबार दिन भने नेप्सेमा लगातार सुधार आएको थियो।
आइतबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा कुल ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत साताको बिहीबार भने नेप्सेमा कुल ७ अर्ब ७३ करोड र बुधबार ८ अर्ब ७९ करोडको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ।
यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज फाइनान्स समूहमा सर्वाधिक अर्थात् ४.७६ प्रतिशतको गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि फाइनान्समा २.४३ प्रतिशतको गिरावट आएको थियो।
आइतबार बैंकिङ समूहको सेयर मूल्य ०.८९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, लगानी समूहको ०.५० प्रतिशत, जीवन बिमा समूहको ०.६१ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य १.६६ प्रतिशतले घटेको छ।
यस्तै, विकास बैंक समूहमा ०.५९ प्रतिशत, जलविद्युत् समूहमा ०.५४ प्रतिशत र लघुवित्त समूहमा ०.७५ प्रतिशतको सुधार आएको छ।
आइतबार उपकार लघुवित्त र माथील्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
आज बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया डिभेन्चर, डोल्टी पावर कम्पनी र जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ९.९२ प्रतिशतले घटेको छ।