काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्। मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन्।
इजरायल-हमास युद्धपछि गाजालाई ‘विध्वंस स्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यसबारे कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँग कुरा गर्ने योजना रहेको बताए।
‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु’, ट्रम्पले एयरफोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने, ‘तपाईं सायद १५ लाख मानिसबारे चिन्ता व्यक्त गर्दै हुनुहुन्छ। हामी त्यो सबै खाली गर्न चाहन्छौँ। तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै संघर्ष थिए। मलाई थाहा छैन, तर त्यहाँ केही हुनुपर्छ।’
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसंख्यामध्ये अधिकांश विस्थापित भएका छन्।
ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुनसक्ने बताएका छन्। ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो। लगभग सबै ध्वस्त भएको छ। मानिसहरू त्यहाँ मरिरहेका छन्। त्यसैले म बरु केही अरब राष्ट्रसँग वार्ता गर्न चाहन्छु। फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु। जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून्।’
पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला शनिबार ट्रम्पको उक्त भनाइ आएको हो।