काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन्।
भन्सार विभागले आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व संकलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए। 'अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ। गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन। हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ,' उनले भने।
सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, निजी क्षेत्रको मनोबल उकास्न र लगानी योग्य वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमार्फत केही कानुन ल्याएकोमा निजी क्षेत्रबाट पनि सरकारको यो कदमको स्वागत भएको उनको भनाइ थियो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले निरन्तर प्रयास गरिरहेको अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
'अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने, उत्पादन-उत्पादकत्व र आर्थिक वृद्धिका लागि सरकारले चालेको यो कदम अन्तिम होइन। यस्ता कदम थप चाल्दै जाने छौँ,' उनले भने, 'यो सरकार बन्दैगर्दा अर्थतन्त्रमा जुन निराशा र शिथिलता थियो। त्यसलाई चिर्न सरकार सफल भएको छ। निराशालाई आशामा बदलेर अर्थतन्त्रमा गतिशीलता दिनुपर्छ भन्ने दिशामा सरकार निर्देशित छ। सबैले यही भावनाका साथ काम गरौँ।'
भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए। 'लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीच समन्वय आवश्यक छ। सरकारले तपाईंले गरेको कामको परिणामका आधारमा मूल्यांकन गर्छ,' उनले थपे।
राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको बताए। 'भन्सार प्रशासनको कार्यक्षमता बढाउने विषयमा हामी गम्भीर छौँ। कर्मचारीको तजबिजी अधिकार घटाउनका लागि कार्यदक्षता बढाउनुपर्ने र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने हुन्छ। यसका लागि जाँचपासमा ‘ब्लकचेन’ प्रविधिलाई प्रयोग गरेर अघि बढ्नुपर्नेबारे मन्त्रालयले सोचिरहेको छ,' उनले भने।