काठमाडौं। राइड सेयरिङ कम्पनी इनड्राइभले दुर्व्यवहारको घटनामा सम्बद्ध महिलाको न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग पूर्ण रूपमा सहकार्य गरिरहेको जनाएको छ। कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, महिलाको सुरक्षा र उनीको अनुभवलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको पनि जनाएको छ। सेवाग्राहीले भोग्नु परेको दुःखद घटनाप्रति कम्पनीले खेद व्यक्त पनि गरेको छ।
इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभले आफ्ना सेवाग्राहीमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्य, दुर्व्यवहारपूर्ण वा गैरकानुनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ। यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ। यस्तो व्यवहारको कडा निन्दा गर्दछ।’
उनले इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीलाई अग्रस्थानमा राख्ने कम्पनी भएको जनाएका छन्। ‘हामी यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग पूर्ण रूपमा सहकार्य गरिरहेका छौँ। हामी यस विषयमा सम्बन्धित अधिकारीलाई पूर्ण सहयोग गरिरहेका छौँ। हाम्रा सेवाग्राहीको विश्वास हाम्रो मुख्य मान्यता हो। हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ। विश्वव्यापी रूपमा इनड्राइभका लागि सेवाग्राहीको विश्वास एक प्रमुख मूल्य हो,’ इनड्राइभले भनेको छ।
गत माघ २ गते चितवनबाट काठमाडौं फर्किने क्रममा एक महिलाले इनड्राइभमार्फत सिटी टु सिटी राइड बुक गरेकी थिइन्। बुकिङपछि चालकले सम्पर्क गरी मूल्य निर्धारण गरेका थिए। तर, चालकले ह्वाट्सएपमा मेसेज पठाउँदै बाटोमा एक घण्टा बसौँ भन्ने प्रस्ताव राखेपछि सो घटाना बाहिर आएको थियो।
त्यसपछि पीडित महिलाले माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरी ८ माघमा चितवनका २५ वर्षीय प्रविण बराललाई नियन्त्रणमा लिएको थियो। उक्त घटनामा अनुसन्धान भइरहेको छ।