काठमाडौं। सेयर बजारमा पछिल्लो केही समययता रजगज गर्दै आएको फाइनान्स समूह ओरालो लागेपछि विकास बैंक उचाल्ने होडमा लगानीकर्ता लागिपरेका छन्। खासगरी हिजोका दिनमा फाइनान्स समूहका पक्षमा निरन्तर वकालत गर्दै आएका मानिस फाइनान्सको गिरावटसँगै विकास बैंक उचाल्ने प्रयासमा लागेका हुन्। सामाजिक सन्जाल तथा आफ्ना व्यक्तिगत प्रोफाइलमा अब विकास बैंकले गति लिने भन्दै चर्चा भइरहेको छ।
एकातर्फ फाइनान्स समूह निरन्तर संकुचित हुँदै जाँदा यसबाट बाहिरिएका लगानीकर्ता कता प्रवेश गर्ने भन्ने सोचाइमा छन् भने अर्कोतर्फ फाइनान्स बिग्रिएको वित्तीय विवरणका कारण यसबाट निस्कन खोज्ने पनि धेरै छन्। गत साउन ३१ गते ३८४८ बिन्दुमा रहेको फाइनान्स सूचक ४८ प्रतिशतले घट्दै गत साताको अन्तिम कारोबार दिन बिहीबार (माघ १० गते) २५६४ बिन्दुमा खुम्चिइसकेको छ।
गत साता मात्रै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५ प्रतिशतले बढ्दा पनि फाइनान्स समूहमा २.८४ प्रतिशतको गिरावट आयो। गत साता १३ समूहमा १२ समूहको सेयर मूल्य उकालो लाग्दा फाइनान्सको मात्रै घटेको हो। नेप्सेका अनुसार गत साताभरमा उत्पादन समूह ५.३४ प्रतिशत, लगानी समूह ४.४४ प्रतिशत, जीवन बिमा समूह ३.९८ प्रतिशत र विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ।
अघिल्लो साताको चार कारोबार दिनमा पनि फाइनान्स समूहमा ठुलो गिरावट आएको थियो। अघिल्लो साता फाइनान्स समूहमा १२.९६ प्रतिशतको गिरावट आउँदा विकास बैंक समूहमा २ प्रतिशतको संकुचन देखिएको थियो। उक्त साता जलविद्युत् समूहमा सबैभन्दा कम अर्थात् ०.१३ प्रतिशत मात्रैको संकुचन आएको थियो। यसरी, पछिल्लो दुई सातालाई मात्रै हेर्ने हो भने पनि फाइनान्स समूहमा ठुलो गिरावट आइसकेको छ।
चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा फाइनान्स कम्पनीको स्थिति नाजुक देखिएको छ। यसकारण पनि फाइनान्स समूह दिनप्रतिदिन संकुचित बन्दै गएको छ। पुससम्मको वित्तीय विवरणअनुसार १५ कम्पनीमा सात फाइनान्सको नाफा ऋणात्मक र आठ फाइनान्सको नाफा धनात्मक छ। फाइनान्स कम्पनीको औसत निष्कृय कर्जा १२.४ प्रतिशत रहँदा १५ मध्येमा १३ वटाको निष्कृय कर्जा बढेको छ।
वित्तीय सूचक कमजोर भएका कारण फाइनान्स समूह थप ओरालो लाग्दै गएपछि लगानीकर्ताहरू विकास बैंक उचाल्न लागिपरेका छन्। यद्यपि, विकास बैंकको वित्तीय सूचक कस्ता छन् भन्ने विषय महत्वपूर्ण हुन्छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा ४.६ प्रतिशत घट्दा राष्ट्रिय स्तरका विकास बैंकको भने करिब १५ प्रतिशत बढेको देखिन्छ।
वित्तीय विवरणअनुसार राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये दुईको नाफा घट्दा ६ बैंकको बढेको छ। पुस मसान्तसम्म आठ विकास बैंकले २ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २५ करोड थियो। फाइनान्सको तुलनामा विकास बैंकको वित्तीय सूचक राम्रो रहेकाले पनि गत साता यस समूह ३.३८ प्रतिशतले बढेको देखिन्छ।
पुससम्मको वित्तीय विवरणअनुसार १५ कम्पनीमा सात फाइनान्सको नाफा ऋणात्मक र आठ फाइनान्सको नाफा धनात्मक छ। फाइनान्स कम्पनीको औसत निष्कृय कर्जा १२.४ प्रतिशत रहँदा १५ मध्येमा १३ वटाको निष्कृय कर्जा बढेको छ।
गत साउन ३१ गते ५७६२ बिन्दुमा रहेको विकास बैंक सूचक गत साताको अन्तिम कारोबार दिन बिहीबार (माघ १० गते) ५५६० बिन्दु कायम भएको छ। यद्यपि, लगानीकर्ताले कसैले भनेको आधारमा भन्दा पनि कम्पनीको वित्तीय विवरण, अध्ययन र योजनाका आधारमा लगानी गर्दा उपयुक्त हुन्छ।
किनभने, करिब ३०० रुपैयाँ हाराहारी रहेको नेपाल फाइनान्सको सेयर मूल्य लगातार उकालो लागेर २०८१ साउन २९ गते २६१४ रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो। त्यसबाट लगातार घटेर हाल ८०० रुपैयाँ तल छ। सोही स्थितिमा रहेको गुडविल फाइनान्स पनि ४०० रुपैयाँ हाराहारीबाट लगातार उकालो लागेर भदौ १७ मा १३३० रुपैयाँसम्म पुगेको थियो जसको मूल्य पनि हाल ७०० रुपैयाँ छ।
ग्रीन डेभलपमेन्ट, बैंक, नारायणी डेभलपमेन्ट बैंकलगायतको स्थिति पनि यस्तै किसिमको छ। पछिल्लो केही समयदेखि राष्ट्र बैंकले केही फाइनान्स तथा विकास बैंकमाथि निगरानी बढाएको विषयलाई पनि लगानीकर्ताले नजरअन्दाज गर्न मिल्दैन। केही दिनअघि मात्रै राष्ट्र बैंकको सञ्चालक समितिले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो भने जानकी फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकलाई पनि निगरानीमा राखेको कुरा आइरहेको छ।
समग्र स्थिति यस्ताे हुँदा गर्दा केही लगानीकर्ता विकास बैंक उचाल्न सामाजिक सञ्जालमा राम्रै उपस्थिति जनाइरहेका छन्। कतिपय लगानीकर्ता विकास बैंक समूह पनि फाइनान्स समूहजस्तै हुने भन्दै त्यसप्रति सचेत रहन भन्दै सामाजिक सञ्जालै तर्क गरिरहेका छन्। विकास बैंक उचाल्ने र उचाल्न नदिनेबीच एक किसिमको प्रतिस्पर्धा नै चलिरहेको समयमा बजार सूचक नेप्सेमा बाउन्सब्याकको संकेत देखिएको छ।
फाइनान्स समूहका पक्षमा निरन्तर वकालत गर्दै आएका मानिस फाइनान्सको गिरावटसँगै विकास बैंक उचाल्ने प्रयासमा लागेका हुन्।सामाजिक सन्जाल तथा आफ्ना व्यक्तिगत प्रोफाइलमा अब विकास बैंकले गति लिने भन्दै चर्चा भइरहेको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन (माघ ३ गते) २५८८.३२ बिन्दुमा रहेको नेप्से गत साता २.५४ प्रतिशत अर्थात ६५.७३ अंक बढेर २६५४.३५ बिन्दुमा पुगेको छ। गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।अघिल्लो साता नेप्से ४७ अंकले घट्दै २५८८.६२ बिन्दुमा रोकिएको थियो।
तर, गत साता राम्रो सुधार देखिएकाले बजारले बाउन्सब्याक गर्ने संकेत देखिएको हो। समग्रमा गत साताको पाँच कारोबार दिनमा ३५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो साताको चार कारोबार दिनमा भने नेप्सेमा कुल २१ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसअघिको दुई साता नेप्सेमा २९ अर्ब ९२ करोड र १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। गत साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको हो।