पोखरा। सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ।
साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो। सबै जिल्लामा कार्य क्षेत्र रहेको सिवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३९० रुपैयाँ रहेको छ। चालु आर्थिक वर्ष २०८१/८२को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार पुँजी कोष ८.२५, खराब कर्जा ४.३५, इपिएस १६, खुद नाफा ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले जानकारी गराए।
संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९ सय रुपैयाँ रहेको छ। संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५१० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७८० रुपैयाँ रहेको छ । १२४ शाखा रहेको सिवाईसी लघुवित्तमा १ लाख २२ हजार ७९७ सदस्य रहेका छन् भने ४७ हजार १२० ऋणी रहेको कार्यकारी प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराएका थिए।
साधारणसभामा सिवाईसी लघुवित्तको मुख्य प्रवर्द्धक संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डी प्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए। साधारणसभामा सेयर सदस्यले राखेको जिज्ञाशाबारे संस्थाका अध्यक्ष शर्मा, सञ्चालक जीवन पौडेल, कम्पनी सचिव तथा र्काकारी प्रमुख शर्माले प्रष्ट पारेका थिए।
कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा शेयर सदस्य गण्डकी थापा अधिकारी, लघुवित्तका सञ्चालक सुमन जि.सी.लगायतले मन्तव्य राखेका थिए। सिवाईसी लघुवित्तमा सालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त संस्था गाँभिएका थिए।