काठमाडौं। भनिन्छ, कर्म गरे अवश्य फल मिल्छ। जसले दिलज्यान दिएर कर्म गर्छ उसले राम्रो आम्दानी गर्छ। कर्म गरेर राम्रो आम्दानी लिएर हासीखुसी रमाउनेमध्येका एक परिवार हो, मिरा राईको दम्पती।
कीर्तिपुरको मच्छेगाउँमा बासका सामान बनाएर बिक्री गर्दै आएका मिरा र उनका श्रीमान साजन राईलाई आज भोलि भ्याइनभ्याई छ। कामको अवसर खोज्दै दैनिक हजारौँ मानिस देश छोडेर विदेश गइरहँदा नेपालमै बसेर लाखौँ कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, राई दम्पती।
मिरा दम्पती हाल कीर्तिपुरको मञ्छेगाउँमा खालिन क्राफ्ट सञ्चालन गरी काठ तथा बाँसबाट निर्मित हस्तकलाका सामान बनाउँदै आएका छन्। हातले बनाएको बाँस तथा काठका सामान उनीहरुले मेलामा स्टल राखेर बिक्री गर्ने गरेको मिरा बताउँछिन्।
‘अहिलेका लागि हामीले सानो कोठा लिएर सामान बनाइरहेका छौँ। बिक्री गर्न कुनै स्टोर राखेको छैन। मेला लागेको समयमा स्टल राखेर बिक्री गर्दै आएका छौँ,’ मिरा भन्छिन्, ‘जति, डिजाइनका काठ तथा बाँसका सामान हामीले बनाएका छौँ त्यो सबै मेरो श्रीमानले बनाएको हो।’
करिब एक वर्षअगाडि मात्र हस्ताकलाको व्यवसाय सुरु गरेकाले उनीहरुको कुनै आधिकारिक स्टोर छैन। उनीहरू मेला लागेको समयमा विभिन्न स्थानमा आफ्नो स्टल राख्दै आएका छन्। त्यही बेला सामान बिक्री गर्दै आएका छन् उनीहरू। व्यवसायको सुरु गर्नुपहिले मिराका श्रीमान फर्निचरमा काम गर्दथे। फर्निचरको काम गर्दा उनले काठबाट विभिन्न खालको डिजाइन बनाउन सिके र आफ्नै काम गर्न सुरु गरे।
सुन धितो राखेर लगानी
फर्निचरमा अरुको काम गर्दै गर्दा धेरै डिजाइनको सामान बनाउँदै आएकाले उनका श्रीमानको योजना थियो, आफ्नै काम गर्ने। तर, आर्थिक अवस्था एकदमै कमजोर भएकाले धेरै लगानी गर्ने पैसा उनीहरुसँग थिएन। कामको सुरुवाती समयमा लगानी गर्ने पैसा नभएर सुन धितो राखी मेसिन खरिद गरेको मिरा बताउँछिन्। सुन धितो राखेर ४० हजार रुपैयाँ निकालेर मेसिन किनेर काम सुरु गरेको सम्झिन्छिन्, मिरा।
उनी भन्छिन्, 'त्यो मेसिनले प्लाइ मात्र काट्थ्यो। कामको सुरुवात गरे पनि आर्थिक अवस्था कमजोर भएकाले सोचे जस्तो काम गर्न पाइएन।’
‘काम सुरु गरेको ६-७ महिनासम्म हाम्रो व्यापार राम्रो भएन। व्यवसया सुरु गरे पनि आवश्यक सामान खरिद गर्न नसक्दा अब यो व्यवसायमा टिक्न नसकिने भयो भन्ने सोच हामीमा आएको थियो,’ मिरा भन्छिन्, ‘के गर्ने कसरी अगाडि बढ्ने भन्ने कुराहरु सोचिरहेका थियौँ। त्यसपछि कस्तो डिजाइन बनाउँदा ग्राहकलाई मन पर्छ र बजारमा बिक्छ त्यहीअनुसार बनाउन थालेपछि व्यापार राम्रो हुँदै जान थाल्यो।’
ग्राहकको मागअनुसार सामान बनाउन थालेपछि व्यापार फस्टाउँदै गएको उनी बताउँछिन्। त्यहीबाट भएको आम्दानीले फेरि अर्काे मेसिन खरिद गरिन्। ‘किरिङ मात्र बनाएर हुन्न भन्ने सोच आयो। फेरि थप एक लाख रुपैयाँ लगानी गरी ठूलो मेसिन किन्यौँ। त्यसपछि नयाँ-नयाँ डिजाइनको सामान बनाएर बिक्री सुरु गरेपछि अहिले महिनाको एक लाख रुपैयाँ यहीबाट कमाउने भएका छौँ,’ मिरा भन्छिन्।
उनीहरुले जति हस्तनिर्मित सामान बनाएका छन्, ती सबै आफ्नो श्रीमानले डिजाइन गरेको मिराको भनाइ छ। डिजाइनका किरिङ, ब्याम्बो सुट, चपस्टिक, पेन होल्डरलगायतका सामान बनेका छन्। ती सबै हस्तकलानिर्मित हुन्।
अहिलेसम्म उनीहरुको कुनै आधिकारिक स्टोर नभएकाले अर्डरअनुसारको सामान बनाएर बिक्री गरिरहेका छन्। अब आगामी दिनमा होलसेलमा पनि दिने योजना बनाएको मिराले बताइन्। ‘यो कामबाट हामी एकदमै खुसी छौं। अब हाम्रो योजना नयाँ-नयाँ डिजाइनको सामानहरु बनाउने हो। जुन सामानको डिजाइन अरुसँग नहोस भन्ने छ,’ उनी भन्छिन्।