काठमाडौं । नेपाल टेलिकमले नागरिक लगानी कोषले स्थापना गरेको नागरिक स्टक डिलर लिमिटेडमा लगानीको निर्णय गरेको छ । टेलिकमको हालै बसेको सञ्चालक समितिको बैठकले स्टक डिलरको संस्थापक सेयरधनी बन्ने औपचारिक निर्णय गरेको हो ।
टेलिकमले कम्पनीमा ४५ करोड रुपैयाँ लगानी गर्ने छ । टेलिकमले लगानीको प्रतिवद्धता जनाए पनि सञ्चालक समितिबाट निर्णय भएको थिएन ।
टेलिकमले निर्णय नगर्दा नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो । टेलिकमले लगानीको निर्णय गरेको कोषका कार्यकारी निर्देशक रमन नेपालले बताए । उनले केही दिनभित्र कम्पनी दर्ता हुने बताए । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले संस्थापक सेयर खरिदको निर्णय गरिसकेको छ ।
पुर्नबीमाले ५० करोड रुपैयाँ सेयर लगानी गर्ने छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी हुने कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ कोषको लगानी हुने छ । कम्पनीको प्रवन्धपत्र र नियममावली तयार भइसकेको छ ।
स्टक डिलरले कारोबार गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लिमिटेडको स्वीकृति लिनुपर्ने छ । प्रक्रियागत काम सकेर छिट्टै डिलर कम्पनी सञ्चालनमा ल्याउने तयार नागरिक लगानी कोषको छ ।
संस्थापक सेयरधनीबाट बाँस्केट फण्ड बनाएर सेयर बजारमा लगानी गर्ने छ । स्टक डिलर कम्पनीले लगानी कोषको पोर्टफोलियो समेत व्यवस्थापन गर्ने छ । लगानी कोषले ९ अर्ब रुपैयाँ सेयर बजार र १ अर्ब रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । कोषलसंग १० अर्ब रुर्पैयाँको लगानी पोर्टफोलियो छ ।
सेयर बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस, माग र आपूर्तिको सन्तुलन स्टल डिलरले कायम गर्ने छ । ठुलो परिमाणमा सेयर खरिद बिक्रीका लागि नेपालमा पहिलो पटक स्टक डिलर सञ्चालन हुने भएको हो ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा छन ।
१९ ओटा वाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको लाइसेन्स लिने तयारीमा रहेका छन । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम गर्ने तयारी गरिरहेको थियो । तर कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।