काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडक खण्डमा निर्माण भइरहेको सिद्धाबाबा सुरुङमार्गको भर्चुअल ब्रेक थ्रु (छिचोल्ने काम) गरेका छन्। ब्रेक थ्रु गर्न बुटवल जाने तालिका भए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि भर्चुअल माध्यमबाटै ब्रेक थ्रु गरेका हुन्।
प्रधानमन्त्री अनुपस्थित भए पनि उपप्रधानमन्त्रीद्वय प्रकाशनमान सिंह र अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितको टोली भने आयोजना स्थलमा पुगेको छ। सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङको ब्रेक थ्रु भएको बताएका छन्।
‘अस्वस्थ भएपछि भर्चुअल माध्यमबाट प्रधानमन्त्री ज्यूले ब्रेक थ्रु गर्नु भएको हो, उपप्रधानसहित भौतिक मन्त्री आयोजना स्थलमा हुनुहुन्छ’ आयोजना प्रमुख अधिकारीले भने। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ फागुनमा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सनसँग ५ वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।
अब निर्माण कम्पनीसँग २ वर्ष म्याद बाँकी छ। सुरुङ ब्रेक थ्रु भए पनि समग्र आयोजनाको ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। गुणस्तर अनुसन्धान विभाग र चाइना स्टेटबीच ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ। सिद्धबाबा सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’(इपिसी) मोडलमा निर्माण हुँदैछ।
इपिसी मोडलमा निर्माण हुनु भनेको निर्माण कम्पनीले नै डिजाइन तयार गर्ने गरी गरिएको ठेक्का सम्झौता हो। यस्तो सम्झौतामा निर्माण अवधिमा आउने जोखिमको भार निर्माण कम्पनीले नै बेहोर्नुपर्छ। सुरुङ खन्ने काम छिट्टै सकिए पनि आवश्यक पहुँचमार्गदेखि सुरुङ फिनिसिङको काम गर्न १ वर्ष बढी लाग्ने आयोजना कार्यालयले जनाएको छ। ब्रेक थ्रु भएपछि सुरुङ भित्रको प्राविधिक काम गर्नुपर्ने भएकाले १ वर्षभन्दा बढी समसयसम्म सवारी चलाउन मिल्दैन।
जलविद्युत र खानेपानी आयोजनाहरुमा नेपालमा सुरुङ बनेर सञ्चालन भइरहे पनि सडक सञ्जालमा भने हालसम्म सवारी चलाइएको छैन। यद्यपि गत वैशाख ३ गते बहुचर्चित नाढुंगा–नौविसे सुरुङमार्गको ब्रेक थ्रु भएको थियो। त्यसलगत्तै राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस आयोजना (फास्ट ट्रयाक) का २ वटा सुरुङ जेठमा ब्रेक थ्रु भएका थिए। आज अर्को सुरुङ ब्रेक थ्रु भएसँगै नेपालको पूर्वाधार विकास निर्माणमा प्रविधिको प्रयोग बढेर नयाँ आयाम थपेको छ।
११ सय २६ मिटर लामो सुरुङको साढे १ मिटर भाग ‘ब्लास्ट’ गरी ब्रेक थ्रु गरिएको हो। सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङ बाहेक तीन वटा बाइपास सुरुङ छन्। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झन्डै ४ किलोमिटर सडकमा पहिरो गइरहने समस्या भएपछि सरकारले सुरुङ निर्माण गरेको हो। सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्ला बासिलाई सहज यात्रा हुने हुनेछ।
सबै तस्बिर : आयोजना प्रमुख कृष्णराज अधिकारी