काठमाडौं। केही वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने नेपाली बजारमा पछिल्लो समय ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ।
युवा पुस्तामा यस्ता मोटरसाइकलप्रतिको मोह बढ्दै जाँदा बजारमा पनि सोही किसिमको प्रतिस्पर्धा देखिन सुरु गरेको हो। नेपाली बजारमा धेरै किसिमको मोटरसाइकल बिक्री वितरण भइरहे पनि कतिपय ब्रान्डको लोकप्रियता लोभलाग्दो छ।
पछिल्लो पटक नेपाली युवामाझ अत्यधिक रुचाइएको मोटरसाइकल हो, ट्रायम्फ। नेपाली बजारमा भित्रिएको छोटो समयमै बेलायती दुईपांग्रे ब्रान्ड ट्रायम्फ बाइक लोकप्रिय बनेको छ। गत नाडा अटो शोमार्फत नेपाली बजारमा भित्रिएको ट्रायम्फ मोटरसाइकल अहिले धेरैको रोजाइमा पर्दै गएको हो। नेपाली बजारमा इन्ट्री गरेको छोटो समय भए पनि यसको बिक्रीको रवाफ भने झन्झन् बढ्दै गएको छ।
यो बाइक हाल यति लोकप्रिय बनेको छ कि दैनिक बिक्री संख्या नै आधा दर्जन हाराहारी छ। नेपाल भित्रिएको सुरुवाती समयदेखि नै राम्रो चल्दै आएको ट्रायम्फ मोटरसाइकलको बिक्री अहिले पनि उही विस्तारमा रहेको ट्रायम्फ बाइकका म्यानेजर सागर थापा बताउँछन्। ‘सुरुवाती समयमा जुन रफ्तारमा हाम्रो बाइक बुकिङ र बिक्री भएको थियो त्यो रफ्तार अहिले पनि कायम नै छ,’ म्यानेजर थापा भन्छन्, ‘अहिले सवारीसाधन बिक्रीको अफसिजनमा पनि ट्रायम्फ बाइक प्रतिदिन ५–६ युनिट बिक्री भइरहेको छ।’
नेपाली बजारमा च्याउसरी दुईपांग्रे सवारी ब्रान्ड उपलब्ध भए पनि ट्रायम्फले धेरैको मन जित्न सफल भएको उनको दाबी छ। बजारमा नयाँ ब्रान्डका बाइक तथा स्कुटर आउने क्रम जारी छ। बजारमा धेरै ब्रान्ड रहेकाले तीव्र प्रतिस्पर्धाका कारण नयाँ आउने ब्रान्ड टिक्न चुनौती छ। यो सबै चुनौतीका बाबजुद पनि ट्रायम्फ बाइकले भने छोटो समयमा राम्रो छाप छाड्न सफल भएको थापाको भनाइ छ।
‘हामीले अब ट्रायम्फ बाइक प्रहरी कल्याण कोषमा पनि बिक्री तयारी गरेका छौं। यसका लागि सम्झौता हुने चरणमा छ। अब चाँडै त्यहाँ पनि ट्रायम्फ बाइक जान्छ,’ म्यानेजर थापाले भने, ‘ट्रायम्फ बाइक बिक्रीपछि पनि कम्पनीले त्यसपछिको सेवा राम्रो दिइरहेको छ। अहिलेसम्म ट्रायम्फमा खास किसिमको समस्या पनि देखिएको छैन।’
अहिले नेपालमा दुई मोडलमा उपलब्ध ट्रायम्फ बाइक स्क्राम्बलर ४०० एक्स एकदमै धेरै मात्रामा बिक्री भइरहेको छ। अर्को स्पिड भेरियन्टको बिक्री पनि राम्रो छ। यद्यपि, तुलनात्मक रुपमा भने स्क्राम्बलर ४०० एक्स बढी बिक्री भएको हो। नेपाली सडकमा पनि अहिले ट्रायम्फ बाइकको उपस्थिति बाक्लो देखिन थालेको छ।
कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा ट्रायम्फ ब्रान्डका मोटरसाइकल सार्वजनिक गरि बुकिङ खुला गरेको थियो। ट्रायम्फ बाइकको नेपालमा दुई वटा मोडल ‘स्पिड ४००’ र ‘स्क्याम्बलर ४०० एक्स’ उपलब्ध छन्। जसमा ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौंको नक्सालमा एउटा मात्रै शोरुम रहेको ट्रायम्फ बाइक खरिद गर्न दिनकै दजनौं मानिस आउने गरेका छन्।
बेलायती ब्रान्ड ट्रायम्फ बाइक १९०२ देखि उत्पादन सुरु भएको ब्रान्ड हो। यसले शताब्दीकोु अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकल उत्पादन गर्दछ। उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ।
सुरुआती समय बेलायतीले यो बाइक रेसका लागि प्रयोग गर्दथे। अफ/अन रोड जुनसुकै ठाउँमा जान पनि प्रयोग गर्न सकिने भएकाले यो बाइक बेलायतमा एकदमै लोकप्रिय मानिन्थ्यो। विश्व युद्धमा पनि यो बाइक सप्लायर भएको थियो। रेसका लागि प्रयोग भएका कारण ट्रायम्फको बाइक एकदमै बलियो हुने रहेछ भन्ने देखियो।
सोही चर्चाका कारण बेलायतबाट अन्य देशमा पनि यो ब्रान्डले लोकप्रियता पाउन थाल्यो। बजाज र ट्रायम्फको सहकार्यमा बजाजको भारतमा रहेको चाखनको प्लान्टमा ट्रायम्फ बाइक एसेम्बल हुने गरेको छ।
भारतको प्लान्टमा एसेम्बल भएको ट्रायम्फको बाइक विश्वका धेरै देशमा पुग्ने गरेको छ। नेपालमा यो गोल्छा ग्रुप अन्तर्गत नेपाल ल्याइएको ब्रान्ड हो। आगामी दिनमा ट्रायम्फ ब्रान्डको बाइक नेपालमा बजाजको प्लान्टमै एसेम्बल हुने कम्पनीले जनाएको छ।
यस्तो छ ट्रायम्फको फिचर
ट्रायम्फ स्पिड ४०० र स्क्राम्बलर ४०० एक्समा ३९८ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। दुवै मोडलको बाइकमा दुवै मोडलको बाइकमा ६ स्पिड गियरबक्स जडान गरिएको छ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाई वायरजस्ता अत्याधुनिक फिचर छन्। त्यसैगरी, ड्युल च्यानल एबीएस, यूएसडीमोनोसक सस्पेन्सन, सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वीलजस्ता फिचर यो मोटरसाइकलमा छन्।