काठमाडौं। चितवनको सौराहा, काभ्रेको धुलिखेल र नगरकोट क्षेत्र सेमिनार, गोष्ठी एवं कर्पोरेट इभेन्टका लागि कुनै समय चर्चित गन्तव्यमा पर्थे।
सरकारी, गैरसरकारी एवं कर्पोरेट हाउसले गर्ने अधिकांश इभेन्टका लागि प्रमुख रोजाइमा पर्ने ती क्षेत्रमध्ये धुलिखेल र सौराहा सुनसान हुन थालेका छन् भने नगरकोट गुल्जार भइरहेको छ।
नगरकोट गुल्जार बन्दा धुलिखेल र सौराहा सुनसान हुनुको मुख्य कारण सडक भद्रगोल रहेको त्यस क्षेत्रका व्यवसायीको गुनासो छ। सडक भद्रगोल भएकै कारण अहिले धुलिखेल र सौराहाबाट इभेन्ट सिफ्ट भएर नगरकोट पुगेका हुन्।
होटल एसोसिएसन अफ नेपाल(हान)का केन्द्रीय सदस्य एवं जंगल सफारी चितवनका सञ्चालक सुमन घिमिरेले गत वर्षको तुलनामा अहिले सेमिनार, गोष्ठी र कर्पोरेट इभेन्ट कम भएको बताए। प्रायः नयाँ वर्ष(जनवरी)मा एनजिओ र आइएनजीओको सेमिनार, गोष्ठी धेरै हुने गरेकामा यो वर्ष सुनसान भएको उनले दाबी गरे। ‘विगत वर्षको तुलनामा अहिले इभेन्ट नहुनुको मुख्य कारण सडक दुरवस्था नै हो,’ सञ्चालक घिमिरेले भने, ‘सरकारी ढिलासुस्तीको कारण सास्ती झेल्नुपर्दा गन्तव्य नै परिवर्तन गरिएको हुन सक्छ।’
क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु लामो समयदेखि अलपत्र सडकका कारण पर्यटक आगमन ठप्प भएको बताउँछन्। ‘कर्पोरेट इभेन्ट, सेमिनार र गोष्ठीका लागि चर्चित गन्तव्य अहिले ओझेल परिरहेको छ,’ अध्यक्ष मकाजुले भने, ‘समयमै सडक निर्माण तथा स्तरोन्नति नसक्दाको परिणाम व्यवसायीले भोगिरहेका छन्।’
निर्माणाधीन सडक पूर्वधार निर्धारित समयमै सम्पन्न नहुँदा सर्वसाधारणले दुःख मात्र पाइरहेका छैनन्, व्यवसायीले अर्बौ रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको व्यवसायसमेत संकटमा परिरहेको अध्यक्ष मकाजुको भनाइ छ।
यता, धुलिखेल र सौराहामा आयोजना गरिने इभेन्टमध्ये अधिकांश सिफ्ट भएर नगरकोट क्षेत्रमा हुन थालेका छन्। काठमाडौंबाट नजिक र राम्रो सडक पूर्वधार भएकै कारण पछिल्लो समय धेरै कार्यक्रम यस क्षेत्रमा हुन थालेको नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष एवं भंगेरी दरबार होटलका सञ्चालक नवीन गुरुङ बताउँछन्।
‘विगत वर्षको तुलनामा अहिले यस क्षेत्रमा हुने इभेन्ट संख्या बढी नै देखिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘इभेन्ट लक्षित गरी व्यवसायीले १५ देखि २० प्रतिशत छुटसमेत दिएर आकर्षित गरिरहेका छन्।’
सामान्यतया जनवरी महिनामा एनजिओ र आइएनजिओहरुले एक वर्षका लागि कार्यक्रम बनाउने गर्छन। यसका लागि विभिन्न ठाउँ पुग्ने गरेका छन्। सरकारी कार्यालयले पनि विभिन्न समीक्षात्मक बैैठक होटल तथा रिसोर्टमा गर्दा पर्यटकीय क्षेत्र चलायमान हुँदै आएका थिए। तर, सडक निर्माण भद्रगोल हुँदा गन्तव्य बदलिएका हुन्।