काठमाडौं। नेपाली र अन्तर्राष्ट्रिय बजारमा वाइवाइ चाउचाउलाई लोकप्रिय बनाउन भूमिका खेलेका जीपी साहले विनोद चौधरीसँगको २५ वर्षभन्दा बढीको सहयात्रा तोडेका छन्। साह वाइवाइको मुख्य प्रतिस्पर्धी योशदा फुड्सको उत्पादन करेन्ट नुडल्ससँग जोडिएका हुन्।
सन् २००० देखि परियोजना तथा प्राविधिक प्रमुखका रुपमा भित्रिएका साह चौधरी ग्रुपमा ग्लोबल हेडका रुपमा रहेका थिए। साह यशाेदा फुड्स कम्पनीमा शुक्रबारदेखि ग्लोबल एक्जुकेटिभ डाइरेक्टको रुपमा भित्रिएका हुन्।
साहकै नेतृत्वमा भारतमा वाइवाइले नयाँ प्लान्ट लगाएको थियो। त्यसैगरी सर्बिया, बंगलादेश, कजाकस्तानमा पनि उनकै पहलमा उत्पादन सुरु गरिएको थियो।
साह प्राविधिक तथा व्यवस्थापकीय रुपमा अब्बल ठहरिन्छन्। वाइवाइलाई ग्लोबल ब्रान्डका रुपमा स्थापित गर्न साहले महत्वपूर्ण भूमिका वहन गरेका थिए।
अन्य प्रतिस्पर्धीलाई तल छाडेर विश्व ब्रान्ड बनाउन सफल साहले सीजीसँगकाे आबद्धता डेढ वर्षअघि नै तोडेका थिए। सीजी छाडेपछि साहले भारतकाे अन्नपूर्ण स्वादिष्ट इन्डियामा काम गरेका थिए। त्यसपछि साहलाई यशाेदाले ग्लोबल एक्जुकेटिभ डाइरेक्टरका रूपमा भित्र्याएकाे हाे।
स्रोतका अनुसार यशाेदाले साह मात्रै भित्र्याएको छैन, वाइवाइको रणनीतिकार ल्याएको हो। उनीसँग उत्पादन, बजारीकरण र ब्रान्डिङमा ठूलो ज्ञान छ। साेही ज्ञान उपयोग गरेर विश्व बजारमा आफ्नो दरिलो उपस्थिति जनाउनुका साथै मुख्य प्रतिस्पर्धी वाइवाइलाई धक्का दिने यशोदा फुड्सको प्रमुख उद्देश्य हो।
लामो समयदेखि वाइवाइसँग कुनै पनि चाउचाउ उद्योगले प्रतिस्पर्धा गर्न सकेका थिएनन्। चौधरीले प्रतिस्पर्धीलाई आउनै नदिएर एकतत्र राज गरिरहेका बेला करेन्टले कडा टक्कर दिइरहेको थियो।
त्यति हुँदाहुँदै यशाेदा व्यवस्थापनले साहलाई भित्र्याएर चौधरीलाई ठूलो झट्का दिएको हो। वाइवाइ र करेन्टबीच अत्यधिक प्रतिस्पर्धा छ। चौधरीले करेन्ट नुडल्सलाई ट्रेडमार्क चोरी आरोपमा मुद्दासमेत हालेको थियो। उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।
करेन्ट नुडल्स र वाइवाइ चाउचाउबीच चलिरहेको ट्रेडमार्कसम्बन्धी विवादमा उच्च अदालतले अन्तिम निर्णय नआउँदासम्म ट्रेडमार्क दर्ता प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको छ।
उद्योग विभागले करेन्ट चाउचाउको ट्रेडमार्क दर्ता गरेको विरोधमा वाइवाइले मुद्दा दर्ता गरेको थियो। ब्रान्ड फरकफरक भए पनि करेन्टको र्यापर वाइवाइ चाउचाउसँग मिल्दोजुल्दो रहेकाले खारेज गर्न वाइवाइले विभागमा उजुरी दिएको थियो। तर, उद्योग विभागले २९ जेठ २०८० मा ब्रान्डको नाम नै फरक रहेकाले यसमा ट्रेडमार्क चोरी नहुने र करेन्टको ट्रेडमार्क दर्ता हुने ठहर गरेको थियो।
त्यसमा चित्त नबुझाएर वाइवाइले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। सो मुद्दा किनारा नलाग्दै उद्योग विभागले करेन्टलाई प्रमाणपत्र दिन लागेको भन्दै सीजी फुड्सले त्यो रोक्न अन्तरिम आदेश माग गर्दै पाटन उच्च अदालतमै अर्को मुद्दा दायर गरेको थियो।
यो मुद्दामा न्यायाधीश ध्रुवराज नन्द र व्रजेश प्याकुरेलको संयुक्त इजलासले पाटन उच्च अदालतमै मूल मुद्दा विचाराधीन रहेको हुँदा त्यसकाे टुंगो नलागेसम्म करेन्ट चाउचाउको ट्रेडमार्क दर्ताका विषयमा उद्योग विभागले गत जेठमा गरेको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो।