काठमाडौं। आज प्रधानमन्त्री केपी शर्मा ओली उपत्यकाबाहिरका दुई कार्यक्रममा सहभागी हुँदै छन्।
प्रधानमन्त्री ओली आज सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक शिलान्यासका लागि बुटवल जाने कार्यतालिका सार्वजनिक भएको हो।
सुरुङमार्ग ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितको टोली पनि बुटवल जाँदै छ।
सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङको ब्रेक थ्रु (छेड्ने काम) का लागि सबै तयारी पूरा भएको र साढे १ मिटर भाग मात्रै बाँकी रहेको बताए।
‘ब्रेक थ्रु गर्न प्रधानमन्त्री आउने भएपछि सडक विभागसहितको टोली, सुरक्षा निकाय सिद्धबाबा क्षेत्र पुगिसकेका छन्’, उनले भने।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झन्डै ४ किलोमिटर सडकमा वर्षैभर यात्रा कष्टकर हुँदै आएको छ।
सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाको आउजाउ सुरक्षित हुनेछ।
सुरुङमार्ग निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। हालसम्म सुरुङमार्गको काम ४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले आजै बुटवल–गोरुसिंगे सडक शिलान्यास गर्नेछन्।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगर–१३ जितगढीमा बुटवल–गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन्।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक निर्माण गर्न लागेको हो। पहिलो चरणमा ५० किलोमिटर सडक शिलान्यास गरिन लागेको होे।
सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले दुई भागमा गरी ठेक्का सम्झौता गरेका छन्।
१३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार लागतमा निर्माण हुने ५० किलोमिटर सडकमध्ये बुटवलदेखि कोठीनदी म्मको २५ किलोमिटरका लागि ७ अर्ब ८९ करोड र कोठिनदिदेखि गोरुसिंगेसम्मको २५ किलोमिटरका लागि ५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।