मोरङ। मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन्। स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत दिँदै गराएका छन्।
चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइर्देखि तीन सय कप चिया बिक्री हुन्छ। ‘हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ। २५ वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसबेला प्रतिलिटर १३ मा किनेको दूध हाल ८० पर्छ, महँगी धेरै बढ्यो’, उनले भनिन्।
त्यतिबेला जमिन केही सस्तो भएकाले चिया बेचेको नाफाबाट अलिअलि बचाएर एक बिघा जमिन किन्न सफल भएको उनी सुनाउँछिन्। ‘त्यसबेला लोकल चिया प्रतिकप दुई र स्पेसल तीन रुपैयाँ थियो। छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए। यही पसलको कमाइले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाउन सक्यौं’, स्वामकुमारीका श्रीमान् सर्गे खवास भन्छन्।
कुनै पनि व्यवसाय इमानदारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने अनुभव स्वामकुमारीको छ। ‘त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो। दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौं’, उनले भनिन्।
उनको पसलमा स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउँछन्। ‘समाजका हरेक सूचना पनि थाहा पाइन्छ। चिया पकाउँदा आम्दानी मात्र होइन, आदत नै बनिसक्यो’, खवास दम्पती भन्छन्।
स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसक्नुभयो। उहाँ आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउँछन्। ‘वर्षौंदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन’, राजवंशी भन्छन,‘बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु। बुबाको जमानामा भारु पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ।’–रासस