काठमाडौं। यत्रतत्र छरिएर रहेका लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न विराटनगरमा माघ १२ देखि आठौं चरणको विराट एक्स्पो सुरु हुँदै छ। डिग्री क्याम्पस मैदानमा १० दिनसम्म चल्ने मेलामा विराटबजार बिटूबी प्लेटफर्म व्यवस्था गरिएको उद्योग संगठन मोरङले जनाएको छ।
प्लेटफर्ममा लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योगदेखि ठूला तथा अन्य प्रकृतिका उद्योग व्यवसायसँग व्यावसायिक सम्बन्ध स्थापित गराउनेदेखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामग्री सहज रुपमा प्राप्त गर्न सहजीकरण गर्न उद्योग संगठन माेरङले यो अवधारणा अघि सारेको हो।
अवधारणाअन्तर्गत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोस्ट गरेपछि सिस्टमले नै अर्को त्यस्तै सामग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खाने गरी यो प्लेटफर्म तयार गरिएको संगठनको दाबी छ ।
त्यसैगरी प्लेटफर्ममार्फत बजार प्रवर्द्धनकै लागि मेरो देश मेरै उत्पादन, बिजनेस क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैदेशिक लगानी प्रकृयालगायत उद्योग व्यवसायसँग सम्बन्धीत सबै सूचना भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेसन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इन्डष्ट्रिज एकेडेमियालगायत कार्यक्रमको डिजिटलाइजेसन भर्सनसहितको एकीकृत सेवाको व्यवस्था गरिएकाे छ।
एक्स्पो उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।