विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताएका छन्।
कोशी टप्पु सुनसरीमा आज भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताए।
कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले भारतको बिहार पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जानकारी दिए।
कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँग उनले कुराकानी गरेका थिए।
सो अवसरमा मुख्यमन्त्री कार्कीले भारत र नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गर्दै भने। ‘तपाईं भारतीय सञ्चारकर्मी मित्रहरूले हाम्रो पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ’, मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो।’
कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार लागि परेको बताउँदै उनले आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि बजेट पनि वृद्धि गरिने जानकारी दिए।
पत्रकारसँगको कुराकानी अघि बसेको मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो।
कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।रासस