आफैंमा रोमाञ्चक र अविस्मरणीय हुन्छ, यात्रा। त्यसैमाथि नेपालबाहिरको घुमफिर भनेपछि मनमा एक किसिमको उत्साह छाइरहेको थियो। जीवनकै पहिलोपटक विदेश यात्रा त्यो पनि जहाज चढेर। मेरा लागि पहिलो भारत घुमफिर र जहाज यात्राको गन्तव्य एकैपटक जुट्दा खुसी नहुनै कुरै थिएन।
काठमाडौंबाट भारत यात्राका लागि हुन्डाईले जुराइदिएको अवसरलाई भ्रमणका क्रममा कसरी सदुपयोग गर्ने होला भनेर जहाज चढ्दैदेखि मनमा गमिरहेकी भने थिएँ। पत्रकारितामा भर्खरै प्रवेश गरेर अटो बिटमा कलम चलाउँदै गर्दा रिपोर्टिङका लागि विदेश यात्रा गर्ने अवसर पाउनु मेरा लागि अवसर थियो। यात्रामा निस्किएका अधिकांश साथीहरु लामो समयदेखि यस क्षेत्रमा काम गरिसकेका थिए। त्यसैले म कान्छी रिपोर्टरको रुपमा परिचित हुन सकेँ।
...
एक वर्षको अटो क्षेत्रको रिपोर्टिङका क्रममा धेरै पटक लेखेको र सुनेको विषय थियो–हुन्डाई क्रेटा विद्युतीयमा आउँदै छ र यसले नेपालमा हलचल ल्याउनेछ। यसको कारणचाहिँ इन्धन सेग्मेन्टमा हुन्डाई क्रेटा ग्राहकको अत्यधिक रुचाइएमा परेको गाडी हो। त्यसैले पनि विद्युतीयमा आउन थालेदेखि यसको पर्फर्मेन्स कस्तो होला भनेर निकै चासोका साथ हेरिरहेका थिए।
संयोग कस्तो जुट्यो भने, मैले जुन बिटमा रहेर हुन्डाईबारे कलम चलाइरहेकी थिएँ, त्यहीँ गाडीको टेस्ट ड्राइभमा भारत जाने अवसर मिल्यो। रिपोर्टिङप्रति विश्वास गरेरै हुन सक्छ, मेरो अफिसबाट टेस्ट ड्राइभमा सहभागिता जनाउनका लागि मेरै नाम लेखेर पठाएझैं लाग्छ।
पोखरालगायत काठमाडौं उपत्यकाभित्र हुने टेस्ट ड्राइभमा सहभागिता जनाए पनि भारत यात्रा पहिलो पटक भएकोले मनमा अनेकौं जिज्ञासा खेलिरहेका थिए। २०८१ माघ १ गते एकाबिहानै हामी पत्रकारको जम्बो टोली काठमाडौं एयरपोर्टबाट जहाजमार्फत भद्रपुर हुँदै भारत यात्रामा निस्कियौं। पहिलो भारत यात्रा कस्तो होला भनेर अघिल्लो दिनदेखि नै मनमा कुतूहलका साथै एक किसिमको डर पनि उब्जिएजस्तो लागेको थियो। यसलाई मैले स्वाभाविक रुपमै लिएँ।
हाम्रो यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुरसम्म जहाजबाट सुरु भयो। भद्रपुरबाट ३० किलोमिटर गाडी यात्रापछि भारतको बागडोरा विमानस्थल पुग्यौं। त्यहाँबाट करिब ३ घन्टे जहाज यात्रापछि मुख्य गन्तव्य चेन्नाई पुग्यौं। जहाज यात्रा रोमाञ्चक लाग्यो।
११७ किलोमिटरको त्यो यात्रा
गाडी र जहाज यात्रापछि टेस्ट ड्राइभको मुख्य गन्तव्य भारतको चेन्नाईमा पुगियो। केही घन्टाको जहाज र गाडी यात्रापछि हाम्रो बसोबास ताज फिसरम्यान कोभ रिसोर्ट एन्ड स्पामा भयो। चेन्नाई पुगेकै दिन कम्पनीले हुन्डाई क्रेटाबारे श्रीलंका र नेपालका पत्रकारलाई जानकारी गराए।
त्यसको भोलिपल्ट हुन्डाई क्रेटाको टेस्ट ड्राइभ गराइयो। म आफूलाई गाडी चलाउन अभ्यस्त नभए पनि रिपोर्टिङका क्रममा प्राप्त जानकारीका कारण टेस्ट ड्राइभिङमा सहज भयो। कति बेला टेस्ट ड्राइभ गर्न पाइएला र कस्तो होला भनेर मनमा खुलदुली भइरहेको थियो। फोटोमा मात्र देखिँदै आएको क्रेटा ईभीलाई स्पर्श गर्ने प्रतीक्षामा हामी पत्रकार थियौं। क्रेटा ईभीको इन्धन भर्सन नेपालमा एकदमै चर्चित र सबैको रोजाइमा परेको मोडलको रुपमा देखेकाले कस्तो होला भन्ने चासो मलाई पनि थियो। यद्यपि, क्रेटा ईभीको मोटर पावर, ब्याट्री प्याक र रेन्जबारे अगाडि नै जानकारी भएकाले त्यसबारे थप बुझ्न आतुर थिएँ।
यसअघि केही गाडीको टेस्ट ड्राइभमा सहभागी भइसकेकाले क्रेटा ईभी त्यसमा समावेश हुनेवाला थियो। अन्य गाडी र यो गाडीका पावर, पर्फर्मेन्स कुन राम्रो भन्ने विषय लेखाजोखा गर्न सक्ने अवस्था थियो।
...
क्रेटा ईभीको मिडियामा जति हाइब र चर्चा चलिरहेको थियो, त्यहीअनुसारका फिचर गाडीमा भए÷नभएको हेर्न एकदमै उत्साहित थिएँ। बसेकै होटलबाट टेस्ट ड्राइभ गर्ने अवसर कम्पनीले जुराइदियो। मलाई ड्राइभिङ नआउने भएकाले प्यासिन्जर बनेर टेस्ट ड्राइभमा निस्किए। त्यतिबेला बल्ल ड्राइभिङ नसिक्दा कस्तो घाटा हुँदो रहेछ भन्ने लाग्यो। भारतमै पहिलोपटक सार्वजनिक भएको गाडी कुदाउने सुनौलो अवसर गुमाएँ। तैपनि नयाँ उत्पादन अवलोकन गर्न पाउँदा खुसी थिएँ।
गाडीभित्र पसेर सिटबेल्ट कसें। पहिलोपटक सार्वजनिक विद्युतीय भर्सनको क्रेटामा यात्रा गर्न पाउँदा ड्राइभिङ नजाने पनि ११७ किलोमिटरको यात्राका क्रममा सबै बिर्सिएँ।
५१.४ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट आवरको मोटर जडान गरिएको क्रेटा ईभीको टेस्ट ड्राइभ गरेका थियौँ। ताज फिसरम्यान कोभबाट चेन्नाई हाइवे हुँदै टेस्ट ड्राइभ गन्तव्य पोन्डीचरीका लागि निस्कियौँ। टेस्ट ड्राइभमा पत्रकार र भ्लगरलाई चढाउन ११ वटा क्रेटा ईभी साथमा थिए।
टेस्ट ड्राइभमा निस्किएका गाडीले अन्य गाडीलाई उछिन्दै गएका थिए। यात्रु बनेर क्रेटा ईभी चढ्दा मलाई पर्फेक्ट लाग्यो। हामीले टेस्ट ड्राइभ गरेका गाडीको एआरएआईबाट दाबी गरिएको रेन्ज ४७३ किलोमिटर थियो। एआरएआईले दाबी गरेको अन्य गाडीको रेन्ज खासै मिल्दैन तर क्रेटा ईभी ठीकै लाग्यो। गाडी प्रयोगकर्ताले सबैभन्दा पहिले हेर्ने भनेकै गाडीको रेन्ज भएकाले ईभी खरिद गर्नेका लागि क्रेटा इभी उपयुक्त अप्सन हो भन्ने महसुस भयो।
क्रेटा ईभीमा टेस्ट ड्राइभ गर्दाको अनुभवमा यो ईभी अन्य चिनियाँ ब्रान्डका गाडीभन्दा राम्रो लाग्यो। हुन्डाई क्रेटा ईभी मेड इन इन्डिया भएकाले समग्रमा गाडीका फिचर राम्रै लागे। क्रेटा ईभीमा जडान भएको प्यानारोमिक सनरुफले मलाई आकर्षित गरायो।
अधिकांश ईभीमा प्यानारोमिक सनरुफ हुन्छ त, यसको सनरुफ मलाई अलि फरक लाग्यो। अन्य ईभीमा प्यानारोमिक सनरुफ हातले कन्ट्रोल गरेको देखेकी थिएँ। क्रेटा ईभीमा भने साउन्डबाट प्यानारोमिक सनरुफ कन्ट्रोल हुने रहेछ। बोलेर प्यानारोमिक सनरुफ खोल्न र बन्द गर्न मिल्ने फिचर एकदमै आधुनिक लाग्यो।
टेस्ट ड्राइभका क्रममा धेरै पटक खोल्ने र बन्द गर्ने काम पनि गरियो। प्रिमियम लक्जरी गाडीमा हुने फिचर क्रेटामा भएजस्तो लाग्यो। क्रेटामा अन्य गाडीमा हुने १०.२५ इन्चको इन्स्ट्रुमेन्ट कलस्टर र इन्फोनेटेमेन्ट सिस्टम छ। यो फिचर सबै गाडीमा हुने नर्मल फिचर हो। यसमा डुअल र स्प्लीट दुई वटा स्क्रिन छ।
क्रेटा ईभीमा ल्यापटप चार्जिङ पोर्ट दिइएको छ। यसले क्रेटा ईभीका यात्रुले गाडीमा बसेरै ल्यापटप चार्ज गरी काम गर्न सक्छन्। क्रेटा ईभीमा पछाडि यात्रु सिटमा बसेर ल्यापटप चलाउन अथवा खाना खान पनि सिट टेबल सुविधा रहेछ। ईभीमा भएको यो नौलो फिचर लाग्यो।
यात्रु सिट कर्म्फटेबल लाग्यो। अगाडिको सिट बटममा थिचेर आफूले चाहेअनुसार अगाडि/पछाडि सार्न मिल्ने रहेछ। क्रेटाका फिचरमा ब्लुटुथ कनेक्ट अलि असहज लाग्यो। पछाडिको सिटमा ग्राहक बस्दा पनि गाडी स्मुथली गएको महसुस गरेँ। १५० को गतिमा पनि यताउति हल्लाउने त्यस्तो केही अनुभवै भएन।
हामी चेन्नाईदेखि पोन्डीचेरीसम्म ११७ किलोमिटरको टेस्ट ड्राइभमा निस्किएका थियौं। क्रेटा ईभीको पर्फर्मेन्स जति चर्चा बजारमा थियो त्यस्तै देखियो। लामो दूरी टेस्ट ड्राइभ गर्दा पनि चार्जिङ समस्या भएन। बाटो कतै खाल्डाखुल्डी थिए। गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम भएकाले कतै ठोक्किने समस्या बेहोर्नु परेन।
नेपाली सडकमा हुन्डाई क्रेटा २०१५ देखि चल्दै आएको गाडी हो। नेपालमा अधिकांश ईभी चिनियाँ आयात भएकाले अन्य मुलुकबाट ल्याइने ईभी कस्तो आउला भनेर कुर्ने जमात ठूलो हुने गर्छ। समग्रमा क्रेटा ईभीको पावर र पर्फर्मेन्स असाध्यै मन पर्यो। यो गाडी नेपालमा पनि आउने भएकाले यहाँका सडकका लागि उपयुक्त हुने अनुमान गरें। दुई ब्याट्री अप्सनमा उपलब्ध क्रेटा ईभी पाँच भेरियन्टमा पाइनेछ।