काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुबारे भ्रम छर्ने काम भइरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको उनको भनाइ छ। उनले साना कर्जाहरु विस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए।
उनले कुनै पनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिइरहेको बताए।
राष्ट्र बैंकले नियमन गरेका संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिबद्धता जनाए। कर्जा विस्तारमा लाग्न बैंकहरुलाई आग्रहसमेत गरे।
‘बैंकिङ आफैंमा कति चुनौतीपूर्ण छ यहाँहरु सबैलाई थाहा छ। कतिले अहिले बैंकहरु कुनै वित्तीय संस्थाहरु समस्यामा छन् भनेर हल्ला फैलाउने, अफवाह फैलाउने, चाहिँदो, नचाहिँदो कुराहरु सोसल मिडियामा राख्ने। छोटो कुराहरु राख्यो, मिडियामा‚’ उनले भने, ‘अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौं। कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ। हाम्रा कुनै पनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौं। डिपोजिट समस्यामा पर्न दिँदैनौं, त्यो हाम्रो एक खालको प्रत्याभूति नै हो।’
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उतारचढावलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। बैंक कुनै पनि निक्षेपकर्तालाई घाटामा पर्न नदिने बताए।