काठमाडौं। दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ। जनवरी २५ देखि काठमाडौंमा हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारले आफ्ना कला प्रदर्शन गर्ने छन्।
कार्यक्रमका लागि कालाकार काठमाडौँ आइपुगेका छन्। बिहीबार कालाकारसहित राजधानीमा आयोजित पत्रकार सम्मेलनमा 'फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो।
प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा. लोखन्डावाले बताइन्। प्रदर्शनीमा राखिएका सृजना सर्वसाधारणले ३ महिनासम्म अवलोकन गर्न सक्ने छन्।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम डा. लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो। “म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ। त्यसैले नेपालमा यस प्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिए। धेरै वर्षअगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो।” उनले भनिन्।
प्रदर्शनीमा नेपालमा तीन, भारतका चार र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक-एक महिला कलाकारका सृजना रहने छन्। आयोजकका अनुसार नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टसँगै भारतीय कलाकार अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला रहेका छन्।
श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा रहने छन्। सबै कलाकारले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्ने छन्।
'प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको शक्तिलाई उजागर गर्ने छ,' उनले भनिन्, 'कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाहरूको विरोध र सोचमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।'
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ। 'प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाको संघर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ।' उनले भनिन्।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगा-द प्यासन (२०१२)’ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्ने छ।
अश्मिना रञ्जितको ‘सीता १ द आइडियल वाइफ ९२०२५०’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्ने छ। त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दै छिन्। उमा बिष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ।
विधाता केसीले कलामार्फत महिलालाई आफ्ना आकांक्षा व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिने छिन्। अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत महिला सशक्तीकरण र स्वतन्त्रताका विषय उठन गर्ने छन्।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने यही जनवरी २५ दिउँसो ३ बजे कलाकारले काम र अनुभव सुनाउने कार्यक्रम रहेको आयोजकको भनाइ छ।
प्रदर्शनीको औपचारिक उद्घाटनअघि बिहीबार ‘डिकोलोनाइजिङ द फेमिनिन् आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल कार्यक्रम समेत सम्पन भएको छ। कार्यक्रममा पितृसत्तात्मक प्रणालीहरूलाई चुनौती दिँदै नारीवादी बहसलाई प्रबर्द्धद्न गर्न कलाले कसरी भूमिका खेल्छ भन्ने विषयमा छलफल भएको थियो।