काठमाडौं। नेप्से सूचक बिहीबार ११.१० विन्दुले घटेर २६५४.३५ अंकमा आएको छ । ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ वटा समूहका सूचकमात्र सकारात्मक देखिएका छन् ।
समग्रमा बिहीबार सेयर बजारमा ट्रेडर हावी भएका हुन् । बुधबार बेस्सरी बढेको बजारबाट नाफा बुक गर्न कारोबारीहरु हतारिएपछि नेप्से सामान्य प्रभावित भएको हो । यसअघि बुधबार बजार ५२.३६ अंकले बढेको थियो । अल्पकालीन कारोबारीहरुले सेलिङ प्रेसर बढाइदिंदा सूचक प्रभावित भएको अनुमान गरिएको छ ।
विगतमा पनि कुनै दिन बजार आकर्षक ढंगले बढ्दा त्यसको भोलिपल्ट सूचक दबाबमा रहने गरेको थियो । यसपटक पनि सोही प्रवृत्ति दोहोरिएको छ । पछिल्ला समयहरुमा छिटो नाफा खोज्ने प्रवृत्ति सेयर बजारमा पनि फस्टाएको छ ।
यसकारण बजार अलिकति बढेको मौकामा बेचिहाल्नेहरुको जमात ठूलो हुँदा सूचक दबाबमा परेको देखिन्छ । यद्यपि, अघिल्लो दिन बेस्सरी बढेको बजार भोलिपल्ट केही करेक्सन हुनुलाई सामान्य मानिन्छ । अब आइतबार, सोमबार बजारले कस्तो लय समाउँछ, त्यो महत्वपूर्ण हुनेछ ।
सूचकसँगै कारोबार रकमले पनि सेयर बजारमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । दैनिक कारोबार रकममा तेजी आउन थालेमा बजार थप चलायमान हुनेछ । यसले बजारमा सेयरको माग बढाउन सक्छ । यसकारण कारोबार रकम बढ्दै जाँदा बजार बढ्ने सम्भावना पनि धेरै हुने जानकारहरु बताउँछन् । सूचकको वृद्धिलाई कारोबारले साथ दिनुपर्ने हुन्छ ।
यद्यपि, केही करेक्सनहरुका बाबजुत बजारले पुनः सकारात्मक लय समाउन सक्नेमा भने धेरै लगानीकर्ता आशावादी देखिएका छन् । अधिकांश कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ भने धेरै कम्पनीले सेयरधनीको खातामा लाभांश पनि पठाउन थालिसकेका छन् ।
यस्तै, सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण पनि धेरैको आइसकेको छ । यसर्थ, अब बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथितिरै जान जोडबल गर्ने देखिन्छ । यस्तै, लामो समयसम्म बजार घट्दा सेयर मूल्यहरु सस्तो भएका छन् । यसले पनि क्रेताहरु आकर्षित गराएको अनुमान गरिएको छ ।
यता, सरकारले हालै अध्यादेशमार्फत संशोधन गरेको लगानीसम्बन्धी कतिपय नीतिहरुका कारण निजी क्षेत्र निकै उत्साहित देखिएको छ । निजी क्षेत्रमा उत्साह बढेको प्रभाव पनि सेयर बजारमा परेको अनुमान छ । त्यसो त बजार एकोहोरो ढंगले बढ्ने वा घट्नेमात्र गर्दैन । बढ्दोक्रममा रहेको बजारमा पनि पटकपटक करेक्सन र साइडवेजका चरणहरु हुने गर्छन् ।
यसअघि पनि ३ हजारको तहसम्म पुगिसकेको नेप्से घट्दाघट्दा २४ सयकै लेबलमा झर्यो । त्यसयता भने विस्तारै बढेर अहिले नेप्से सूचक २६ सयको लेबलमा रहेको छ । २६–२७ सयको तहमा पनि बजारले धेरै पटक तलमाथि गरिरहेको छ ।
सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ । तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।
यस दिन ३ सय १८ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ष्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र युनाइटेड इर्दी मर्दी हाइड्रोपावर परेका छन् ।