काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको निर्यात उद्योगको विकास गर्न चाहिने नीति बनाउ तत्पर रहेको बताएका छन्।
नेपाल पस्मिना उद्योग संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ३ दिने अन्तर्राष्ट्रिय पस्मिना एक्स्पोको उद्घाटन शत्रमा उनले सो बताएका हुन्।
‘पस्मिना निर्यात र त्यसका कच्चा पदार्थ देशभित्रै उत्पादनलाई प्राथमिकतमा राखेर मन्त्रालय अघि बढेको छ’ कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘व्यापार रणनीतिलाई कसरी सफल बनाउन सकिन्छ? अन्तर मन्त्रालय छलफल गरेर नीति सहकार्य गरी थप काम अघि बढाउँछौं।
‘पस्मिनाको कच्चा पदार्थ नेपाल भित्रै उत्पादन गर्न धेरै चुनौती छन्। केही नीतिगत सुधारमा सरकार ध्यान दिनुपर्ने छ। सरकारले केही नीतिहरुमा व्यवसायीहरुलाई प्रोत्सहित गर्न र नेपालमा रहेको सम्भावना उजागर गर्न नीति सहजीकरण गर्दैछौ’ उनले भने।
नेपाल पस्मिना उद्योग संघले आयोजनामा ‘मेक इन नेपाल एक्स्पो, २०२५’ माघ १० गतेदेखि १२ गतेसम्म चल्लने छ। उक्त एक्स्पोमा ४० वटाभन्दा बढी पस्मिनाका स्टलहरु, १ सय भन्दा बढी नेपाली पस्मिनाका भेराइटीहरु, पस्मिनाको फेसन सो गरिने, १ सय ५० वटाभन्दा बढी स्वदेशी उत्पादनका स्टलहरु एउटै छातामुनि, प्रत्यक्ष पस्मिना निर्माण प्रदर्शनी, कृषि जन्य स्वदेशी उत्पादनहरु, हस्तकला तथा घरेलु उद्योगहरु, नेपाली गलैचा तथा कार्पेट, नेपाली रौथाने खाना परिकारको स्टल राखिएका छन्।
नेपाली उद्योगीले उत्पादन गरेको वस्तुहरु विश्व बजारमा चिनाउने अवसर यस्ता एक्स्पोले सिर्जना गरेको भन्दै मन्त्री भण्डारीले अन्तर्राष्ट्रियस्तरमा नेपाली प्रर्दशनी स्टल निर्माण गर्ने बताए।
‘छिमेकी मुलुकहरुसँग समन्यव गरेर सम्बन्धित देशमा नेपालको एउटा अत्यधुनिक प्रदर्शनी स्टल निर्माण गर्ने, प्रर्दशनीमा राख्ने र तालिमसमेत दिने गरी बहुद्देश्यि प्रर्दशनी स्टल निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकता राखेको छ।’
यस्तै, २ वर्षपछि नेपाल अति कम विकसित राष्ट्रबाट विकसिल राष्ट्रमा स्तर उन्नति हुँदै छ। त्यसपछि निर्यात उद्योगलाई आवश्यक पर्ने सरकारी नीतिमा सहजीकरण गरिरहेको मन्त्री भण्डारीले जानकारी दिए। ‘सम्भावना र चुनौतीहरुलाई राखेर अहिले पनि नीतिहरुमा परिवर्तन गरेका छौं। लघु साना तथा मझौला उद्योगका लागि भनेर मात्रै केही नीति अख्तियार गरेका छौं। वाणिज्य नीति परिमार्जन गर्दछौं’ उनले भने।
अहिलेसम्म निर्माण नभएको लघु घरेलु नीति निर्माण गरेको उनले बताए। साना लघु उद्यमीहरुलाई प्रोत्साहन गर्न कोषको अवधारण अघि मन्त्रालयले अघि बढाएको र सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग नीतिको कार्याविधि पारित गरी नेपालको सार्वजनिक निकायहरुमा स्वदेशी उत्पादन प्रयोगलाई अनिवार्य गरिएको उनले जानकारी दिए। यस्तो नीतिले स्वदेशी उत्पादनलाई आन्तरिक बजारमा खपतमा सहयोग हुने उनको विश्वास छ।
नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले सरकारको नीति निर्यातमूखी नीति नहुँदा सम्भावना भए पनि फस्टाउन नसकेको बताए। ‘नेपालका उत्पादनको माग अन्तर्राष्ट्रिय बजारमा धेरै छ तर, आन्तरिक बजारमा चाहिने कच्चा पदार्थ उत्पादन हुन नसक्दा उद्योगले मागअनुसार उत्पादन गर्न सकिरहेका छैनन्,’ कार्यक्रममा संघका अध्यक्ष लामिछानेले भने, ‘सरकारले नेपाल भित्रै पस्मिनाको कच्चा पदार्थ उत्पादन गर्ने नीति लिएर आवश्यक काम तीव्र बनाए आगामी ५ देखि १० वर्षबीचमै नेपाल पस्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर हुन्छ।’