काठमाडौं। दुई गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने ट्र्याक रेकर्ड भएको भारतको सबैभन्दा ठूलो सौर्य ईपीसी कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जा क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न तयार भएको छ। प्रोजिल ग्रिन इनर्जी र गोल्याण पावर लिमिटेड, बीचको संयुक्त उपक्रम "प्रोजिल ग्रिन इनर्जी नेपाल" बुधबार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलनमा औपचारिक रूपमा सुरु गरिएको छ।
कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताए। उनले नियामक निकायको हैसियतले विद्युत नियमन आयोगले पनि नयाँ नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैं तत्पर रहेको बताए।
उनले भने, ‘सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा साथै निजी क्षेत्रलाई सहयोग गर्नका लागि सधैं तत्पर रहेको छ। तपाईंहरूले लगानी बढाउँदै जानुहुन्छ भन्ने विश्वास छ।’ कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए। ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्कौ वर्षमा १००० मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौँ भन्ने लाग्यो,’ उनले भने।
यस्तो भएमा मुलुकले अर्को वर्षदेखि विजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने उनको भनाइ थियो। अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि त्यो कहाँ छ भन्ने थाहा नभएको जस्तो अवस्था रहेको गुनासो गरे। मुद्दामामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै उनले सरकारलाई र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजनसहित अगाडि बढ्न सुझाइरहेको बताए।
उनले सोलार ऊर्जाालाई कसरी अगाडि बढाउने भन्ने कुरा अझै प्रष्ट नभइसकेकाले यसमा स्पष्ट भिजन बनाउनुपर्नेमा जोड दिए। विद्युत विधेयक बन्दै गरेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो। उनले भने, विधेयक हरेक वर्ष परिर्वन गर्ने कुरा हुँदैन। त्यसकारण अहिले विधेयक बनाउँदै गर्दा यसमा विचार पुर्याउनुपर्छ। विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहलिे ३५ वर्षको कुरा आउनु उचित नभएको उनले बताए।
सोलारको विकास गर्दै जाँदा विधेयकमा यसलाई समेटिनुपर्नेमा सबै सरोकारवालाको एकमत हुनुपर्नेमा कार्कीको जोड छ। सोलार ऊर्जामा लाखौं जनताको लगानी हुने भन्दै सरकारले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। साथै अहिले सरकार सकारात्मक रहेको बताउँदै सरकारले विधेयकमा यसलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सोपानका अध्यक्ष डा सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए। उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए। ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ। सौर्य ऊर्जा उत्पादनका लागि केही समस्याहरू समेत रहेकाले सरकारले नीतिगत रुपमा त्यस्ता समस्याहरूलाई समाधान घटाउँदै जानुपर्नेमा उनको जोड छ।
प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जुन देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्वपूर्ण कदम हुनेछ।
शिखर सम्मेलनमा बोल्दै प्रोजिल ग्रिन इनर्जीका अध्यक्ष शोबित बैजनाथ रायले भने, ‘हाम्रा सम्मानित साझेदार, गोल्याण पावरसँग मिलेर हामी ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोसेढुङ्गा हासिल गर्न अघि बढिरहेका छौं। प्रोजिल ग्रिन इनर्जी नेपाल दिगो र नवीन ऊर्जाद्वारा नेपाललाई सशक्त बनाउने साझा प्रतिबद्धता राख्छ। हाम्रो उद्देश्य नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रुपान्तरणको नेतृत्व गर्नु र देशको डिकार्बोनाइजेशन प्रयासहरूलाई अझ बलियो बनाउनु हो।’
प्रोजिल ग्रीन इनर्जी र गोल्याण पावर लिमिटेड को साझेदारीले विश्वव्यापी रूपमा २ गिगावाटभन्दा बढी नवीकरणीय ऊर्जा परियोजनाहरू सम्पन्न गररेको प्रोजिलको प्रमाणित ट्र्याक रेकर्डलाई गोल्याण पावरको मिहिन स्थानीय ज्ञान र बजार नेतृत्वसँग जोड्दछ।
कार्यक्रममा गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए। गोल्याण पावर तर्फबाट प्रोजिल ग्रिन ईनर्जि नेपालका सञ्चालक प्रवीण अर्यालले भने, ‘यो साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपन प्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। प्रोजिल ग्रीन इनर्जीसँग सहकार्य गरेर, हामीले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेका छौं।’
प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तीव्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउन्ट गरिएको फोटोभोल्टेइक पीभी सौर्य प्लान्टहरू दुवै विकास गर्नेछ।
संयुक्त उपक्रम सम्झौता अनुसार, प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा यसको व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै ईपीसी विकास कम्पनीको रूपमा नेतृत्व गर्नेछ, र गोल्याण पावरले व्यापार विकास, जग्गा अधिग्रहण र वित्तिय व्यवस्थापनमा ध्यान केन्द्रित गर्नेछ।