नारायणघाट। आलुखेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ।
कार्यालयले वार्षिक कार्यक्रमअन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न यहाँ आलु लगाएर परीक्षण गर्दै आएको हो। कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार यहाँ १० प्रकारका आलुको अनुसन्धान भइरहेको छ। उनले १० वटा आलुका जातमध्ये सातवटा आलुका जात युरोपबाट ल्याएर परीक्षण तथा अनुसन्धान गरिरहेको बताइन्।
यी जात परीक्षणका क्रममा रहेको र सूचीकृत भइनसकेको उनको भनाइ छ। आलु खनेपछि थप अनुसन्धान हुने त्रिपाठीले बताइन्। किसान कृष्णप्रसाद अर्यालको खेतमा आलुका जातबारे अनुसन्धान गरिँदै आइएको हो। अर्यालका अनुसार यहाँ आलु उत्पादन धेरै भए पनि बजार मूल्यमा एकरूपता छैन। व्यापारीले सकेसम्म कम मूल्यमा खरिद गर्ने हुँदा यसका लागि आलुको जात कायम गरी मूल्यमा एकरूपता ल्याउनुपर्ने उनी बताउँछिन्।
उनले यो क्षेत्रबाट वार्षिक रु. ३७ करोडसम्मको आलु बिक्री हुने गरेको बताइन्। व्यापारी र उपभोक्ताले खोजेको जातको आलु लगाउन सकेमा यस क्षेत्रबाट धेरै मात्रामा आलु उब्जाउन सकिने र मूल्य बढी पाइने उनको कथन छ। कृषि कार्यालयले यहाँ अध्ययन गर्दै आएको आलुमा ०.५२, २५.७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जात छन्।
त्यसैगरी फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातका आलु पनि कार्यालयले अनुसन्धान गर्दै आएको छ। औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आवश्यक आलु जिल्लामा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन भइरहेको र सम्पूर्ण नतिजा यो वर्ष आलु खनेपछि प्राप्त हुने जिल्ला कृषि कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए।
किसानले लगाउँदै आएका परम्परागत आलुभन्दा परीक्षणका लागि लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग कीराको आक्रमण, विक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिँदै आइएको उनको भनाइ छ।–रासस