काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ। भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो।
जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव रामप्रसाद घिमिरेले दोसल्ला ओेढ्याएर शाखा अधिकृत भट्टराईलाई सम्मान गरे।
भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बर अध्यक्ष अग्रवालले बताए। भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ।
सम्मान कार्यक्रममा चेम्बर अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए। भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारी नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए।
सबै प्रकारका हार्मोनिक कोडमा अध्ययन पुनरवलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालको आग्रह छ। भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रिया छिटो–छरितो र झन्झटरहित बनाउन अध्यक्ष अग्रवालले सुझाए। विश्वव्यापार संगठन, बिमस्टेक र साफ्टा आदिमा गरिएका प्रतिबद्धताअनुसार विद्यमान भन्सारका दरलाई घटाउनुपर्ने धारणा उनले व्यक्त गरे।
चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले भन्सार मूल्यांककन वास्तविकभन्दा बढी हुँदा समस्या भएको बताए। भन्सारमा सन्दर्भ–मूल्यलाई खारेज गरेर कारोबार मूल्यलाई मान्यता दिने हो भने राजस्व संकलन वृद्धि गर्न सकिने वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाइ छ।
अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्र सँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अप्ठेरा सहज बनाउँदै लगिने बताए। सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्न विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोबल उकासिनुपर्ने घिमिरेको भनाइ छ।