काठमाडौं । गत पुस १ गते बजारमा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । सोहीदिन देखि ह्याचरी उद्योगीहरुले सस्तो मुल्यमा मासु बेच्नुपरेकाे भन्दै १० दिने आन्दोलन घोषणा गरे ।
त्यसको भोलिपल्टै चितवनको सडकमा व्यवसायीहरुले एकातिर सडकमा अन्डा फुटाए भने अर्कोतिर हरेक कुखुरा फर्ममै पुगेर धमाधम चल्ला नष्ट गरे । व्यवसायीहरुले फर्म नजिकै खाल्डो खनेर जिउदै चल्ला पुरेका थिए । आन्दोलन अवधिभर १५ करोडको चल्ला र ४५ करोडको अन्डा नष्ट गरेको व्यवसायी आनन्दराज वतासले बताएका थिए ।
१० दिनको आन्दोलनले बजारमा चल्ला नआएपछि मासु खान योग्य कुखुरा उत्पादन नै बन्द भयो । जसले गर्दा व्यवसायीले चाहेअनुसार मासुको मुल्य बढाउन थाले । आन्दोलन सकिएपछि बजारमा कुखुराको मासुको मुल्य एकैपटक प्रतिकिलो सय रुपैयाँभन्दा बढीले बढ्न थाल्यो ।
आइतबार बजारमा कुखुराको मासुको मुल्य ४ सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा महङ्गो मुल्यमा कुखुराको मासुको कारोबार भएको व्यवसायीहरु बताउछन् ।
याे पनि पढ्नुहाेस्ः कुखुराको मासु र अण्डाको मुल्य ४०० पुर्याउन ह्याचरी उद्योगीको चलखेल
कुखुराको मासुकै हाराहारीमा अन्डाको मुल्य पनि बढेको छ । पुष १ गते ३ सय २० प्रति क्रेटमा बिक्री भएको अन्डा २० दिनपछि ४ सय पुगेको छ । व्यवसायीहरुको सिन्डिकेटले चल्ला र अन्डा नस्ट गरि मुल्य बढाएपछि आम उपभोक्ता मारमा परेका छन् ।
ह्याचरी उद्योगीको सिन्डिकेटले माउ कुखुरा(प्यारेट) बजारमा पर्याप्त नआउँदा र किसानले चल्ला नहाल्दा मुल्य ह्वात्तै बढ्न पुगेको कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए ।
दानाको मूल्य बढ्दा उत्पादन लागत नउठेको भन्दै किसानले चल्ला नराख्दा भाउ बढेकोे उनको तर्क छ । यता, ह्याचरी उद्योगी भने १० दिन चल्ला उत्पादन र अण्डा नष्ट गरेकै कारण मुल्य नबढेको जिकिर गर्छन् । ‘किसानले चल्ला नहालेकाले मुल्य बढेको हो’ ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल भन्छन्, ‘किसानले एक बर्षदेखि घाटा खाँदै आए । अहिले उत्पादन लागत उठ्न छाड्यो । त्यसैले कुखुराका चल्ला नहाल्दा त्यसले मुल्य असर पार्यो ।’
याे पनि पढ्नुहाेस्ः सिन्डिकेटधारी ह्याचरी व्यापारीसामु सरकार निरीह, एकलौटी निर्णयमा उत्पादन रोक्नु वा जिउँदो चल्ला नष्ट गर्नु ऐन विपरित
केही सातासम्म अहिलेकै मुल्य कायम रहने उनको भनाई छ । उपभोक्ता संरक्षण ऐनको बर्खिलाप उत्पादन नष्ट गर्ने र रोक्ने ह्याचरी उद्योगीको सिन्डिकेटमा पनि सरकारले भने मौन समर्थन जनायो ।
व्यापारीको कालोबजारीले सरकारको नेतृत्वमा बस्नेलाई नै आर्थिक लाभ हुने कारणले पनि आम उपभोक्ता ठगिनुपरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘बजारमा कालोबजारी गर्ने, अनुचित व्यापार गरेर मुनाफा खाने व्यवसायीको तर्फबाट सरकारको नेतृत्वमा बस्नेहरुलाइ आर्थिक लाभ प्राप्त भइरहेको हुन्छ’ उनले भने, ‘यो कारणले विचौलियाको मनपरी चलेको छ । सरकार भने मौन छ ।’
यता, अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणले विभाग भने कुखुराको मासु र अण्डाको मुल्यप्रति संवेदनशील रहेको बताउँछ । ‘कुखुराको मासु र अण्डाको मुल्य बढ्न थालेपछि केही दिनअघि पोल्ट्री क्षेत्रका व्यवसायीलाइ बोलाएर छलफल गरेका छौं’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भन्छन्, ‘मुल्य बढ्नु हुदैन । यसमा हामी गम्भिर छौं । व्यापारीले अतिरञ्जित रुपमा भाउ बढाउन पाउँदैनन् । त्यसमा कानुन कडा नै छ ।’
याे पनि पढ्नुहाेस्ः ह्याचरीको सिन्डिकेटले मासुको मूल्य बढाउन चल्ला उत्पादन रोकियोे, सरकार भन्छ-व्यापारीको निर्णयमा हस्तक्षेप गर्न मिल्दैन
याे पनि पढ्नुहाेस्ः ह्याचरी उद्योगीको सिन्डिकेटको प्रभाव: हप्तामै बढ्योे कुखुराको मासुमा ६० र अण्डा क्रेटमा ५० रुपैयाँ