काठमाडौं। भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२ मा सार्वजनिक भएका अधिकांश गाडीको रेन्ज ५०० माथि रहेको छ। ९० प्रतिशत बढी विद्युतीय सवारीसाधन (ईभी)ले वर्चस्व जमाएको यस वर्षको एक्स्पोमा लन्च भएका अधिकांश गाडीको रेन्ज ५०० माथि रहेको पाइएको हो। नेपाल, भारत होस् वा अन्य जुनसुकै देश होस्, गाडी खरिदकर्ताले सो गाडीले प्रदान गर्ने रेन्जलाई मुख्य चासोका रुपमा हेर्ने गर्दछन्।
यसैले, अटो ब्राण्डबीच सबैभन्दा बढी रेन्ज कसले प्रदान गर्ने भन्ने प्रतिस्पर्धा पनि चलिरहेका देखिन्छ। जसले हरेक ब्राण्डले बढी रेन्ज दिने गाडी सार्वजनिक गर्दै आएका छन्। भारतीय ग्लोबल एक्स्पोमा पनि आफूले प्रदान गर्ने रेन्जमार्फत् नै ग्राहक आकर्षण गर्ने ढंगमा अटो ब्राण्ड अगाडि आएका छन्। भारत मोबिलिटी अटो एक्स्पोमा सस्तादेखि महंगा गाडी लन्च भएका छन्।
लन्च गरिएका अधिकांश गाडीको रेन्ज ५०० किलोमिटरभन्दा माथि रहेको हो। एक्स्पोमा २० भन्दा धेरै ईभी सार्वजनिक भएकामा अधिकांश कम्पनीले लन्च गरेको गाडीको रेन्ज ५०० भन्दा बढी रहेको छ। अटो एक्स्पोमा मारुती सुजुकी, भिनफास्ट, एमजी, हुण्डाई, बिवाईडी, टोयोटा अर्वन क्रुजर, मर्सिडिज, बिएमडब्लु र कियालगायतका ब्राण्डहरुले आफ्नो उत्पादन सार्वजनिक गरे जसमा अधिकांशका रेन्ज ५०० माथि छ।
हुन त, भारत मोबिलिटी एक्स्पोमा विद्युतीय गाडी प्रमुख आकर्षक थिए। अटो एक्स्पोको फोकस भविष्यको स्वच्छ गतिशीलतामा केन्द्रित भएकाले धेरै कम्पनीले आफ्ना विद्युतीय सवारीसाधन सार्वजनिक गरेका छन्। एक्स्पोमा प्रदर्शन गरिएका केही विद्युतीय गाडीलाई गाडी पारखीले रुचाएका छन्। प्रदर्शनमा राखिएको केही गाडी कम मूल्यका छन्। भने केही विलासी जीवनशैली मन पराउने ग्राहकका लागि ल्याइएको छ।
कुनको रेन्ज कति?
मारुती सुजुकी ई भिटारा
एक्स्पोको पहिलो दिन सार्वजनिक भएको मारुती सुजुकी ई भिटाराको रेन्ज ५०० किलोमिटरभन्दा बढी रहेको छ। सुजुकी इभिटारामा ४९ र ६१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्रीको अप्सन रहेको छ। ई भिटारमा ४९ किलोवाटको ब्याट्रीप्याकसँग १०८ किलोवाटको मोटर दिएको छ भने ६१ किलोवाट आवरको ब्याट्रीप्याकसँग १३० किलोवाटको मोटर दिएको छ। कम्पनीले ई भिटारा १७ लाख भारु हाराहारीमा ल्याउने अनुमान गरिएको छ।
टाटा ह्यारीयर र अभिन्या
टाटा मोटर्स इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा तीन मोडलका विद्यूतीय गाडी प्रदर्शन गरेको छ। टाटाले ह्यारियर, कर्भ र अभिन्या ईभीका नयाँ मोडल देखाएको छ। जसको रेन्ज ५०० भन्दा माथि नै भएको कम्पनीले दाबी गरेको छ। कम्पनीले ह्यारियरको सुरुवाती मूल्य २४ लाख, कर्भको १७ लाख ४९ हजार र अभिन्याको ३० लाख रहेको छ।
महेन्द्रा
महिन्द्राले अटो एक्स्पोमा आफ्नो दुई ईभी मोडलहरु बीई–६ ई र एक्सयूभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ। बीई–६ ई को सुरुवाती मूल्य भारतीय बजारमा १८ लाख ९० हजार छ। त्यस्तै एक्सयूभी–९ ई को मूल्य १ लाख ९० हजारदेखि ३० लाखसम्म तोकिएको छ। दुई ब्याट्री अप्सनमा उपलब्ध बीई–६ ई को रेन्ज ५५६ देखि ६८२ किलोमिटरसम्म रहेको दाबी कम्पनीको छ। यस्तै, ५९ कलिोवाट र ७९ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध एक्सयूभी–९ को रेन्ज ६५६ किलोमिटर रहेको छ।
एमजी एम ९
जेएसडब्लु एमजी मोटर इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा एम ९ लिमोसिन प्रदर्शन गरेको छ। कम्पनीले एक्स्पोमा सार्वजनिक गरेको एम ९ मा ९० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। एम ९ ले एक पटको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
एमजी साइबरस्टर र एमजी ९
यस वर्षको अटो एक्स्पोमा इलेक्ट्रिक यसयूभी मात्र नभएर इलेक्ट्रिक स्पोर्टस कार पनि प्रदर्शन गरिएको छ। एमजीले आफ्नो इलेक्ट्रिक स्पोर्टस कार साइबरस्टर प्रदर्शन गरेको छ। यो कारले एक पटको फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
बिएमडब्लु आइ ७
अटो एक्सपोमा बीएमडब्लुका कारहरु पनि प्रदर्शनमा राखिएको छ। कम्पनीले आफ्नो बिएमडब्लु आइ सेभेन इलेक्ट्रिक कार सार्वजनिक गरेको छ। जुन फुल चार्जमा ६०० किलोमिटरभन्दा बढी चल्ने कम्पनीले जनाएको छ।
किया ईभी ६
कियाले दिल्लीमा चलिरहेको भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी–६ फेसलिफ्ट प्रदर्शन गरेको छ। अटो एक्स्पो २०२५ मा प्रर्दशनीमा राखेको ईभी ६ मार्चमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। किया ईभी–६ दुई भेरियन्ट उपलब्ध हुनेछ। कम्पनीले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा आउने जनाएको छ। कियाले प्रर्दशनीमा राखेको ईभी–६ मा ८४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले एक पटकको फुल चार्जमा ६५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ।
भिनफास्ट
भियतनामको सबैभन्दा ठूलो कार कम्पनी भिनफास्टले भारतीय बजारमा उत्कृष्ट प्रवेश गरेको छ। हाल चलिरहेको भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा भिनफास्टले भिएफ ३ भिइफ ६ र भिएफ ७ सार्वजनिक गरी भारतीय विद्युतीय बजारमा आफ्नो छाप छोड्न सफल भएको छ। आगामी समयमा यसले टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रादेखि हुण्डाई मोटर र जेएसडब्ल्यू एमजी मोटर इन्डिया जस्ता कम्पनीहरूलाई ठूलो चुनौती दिने देखिएको छ।
बिवाईडी सिलायन ७
चिनियाँ विद्युतीय सवारीसाधन निर्माण कम्पनी बिवाईडीले अट एक्स्पो २०२५ मा आफ्नो प्रिमियम इलेक्ट्रिक यसयूभी सिलायन ७ सार्वजनिक गरेको छ। सिलायन ७ ले एक पटकको फुल चार्जमा ५६७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। सिलायन ७ ४५ लाख भारुसम्म आउने अनुमान गरिएको छ।