काठमाडौं। एसियाली देशहरुका बीमा क्षेत्रका नियामक निकायहरुको संस्था एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स एएफआईआरको १९ औं वार्षिक वैठक तथा सम्मेलन २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण, इन्टरनेशनल एशोसियशन अफ इन्स्योरेन्स सुपरभाइजर्स एएफआईआर र फाइनान्सियल स्टेबिलिटी इन्स्टिट्युड अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन सम्पन्न भएको हो।
बीमा नियमनसम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ गते र ड गते तथा एएफआईआरको वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते भएको हो। बैठकमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एसिसा प्रशान्त क्षेत्रका देशहरुका बीमा क्षेत्रका नियामक निकायहरुको बैठक नेपालमा राखिएकोमा धन्यवाद दिए।
अध्यक्ष दहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याए।
कार्यक्रमको सभापतित्व एएफआईआरका अध्यक्ष तथा अस्ट्रेलियन पुरुडेन्टल रेगुलेशन अथुरिटीका महाप्रवन्धक पिटर कोहिहागेन तथा फाइनान्सियल स्टेबिलिटी इन्स्टिट्युड बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सका अध्यक्ष फर्नान्डो रस्टोईले गरेका थिए। दोस्रो दिनको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृंखला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिएका थिए।
बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न जोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतीको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो ।
एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै पारामेटिक इन्स्योरेन्स र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो ।
यसैगरी, विश्वभर तीब्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलितरूपमा सम्बोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायु परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।
जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्बोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंकले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, प्रोटेक्सन ग्याप घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिम रक्षावरण लगायतका विषयमा प्रस्तुति राखिएको थियो।
बैठक समापन गर्दै एएफआईआरका अध्यक्ष कोहिहागेले नेपालमा कार्यक्रम सम्पन्न गर्नका लागि बीमा प्राधिकणले खेलेको भूमिकाको प्रशंसा गरे। साथै आगामी दिनमा एसिया प्रशान्त क्षेत्रका सबै बीमा नियामक निकायहरुले सन् २०२५ देखि २०२९ सम्मका लागि ल्याएको मार्गचित्रअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे।
बैठकमा एसिया प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।