काठमाडौं। नियामकिय निर्देशन उल्लंघन गरेर बैंकिङ व्यवसाय गर्ने १६ वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन्। नेपाल राष्ट बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले दिएको निर्देशन विपरीत काम गर्ने ८ विकास बैंक र ८ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।
वित्तीय संस्था सुपरीवेक्षण विभागले चालू वर्षको दोस्रो त्रैमासमा विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गरेको वित्त कम्पनी र ती संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारबाहीको विवरण सार्वजनिक गरेको छ।
जसअनुसार विभागले उक्त अवधिमा विकास बैंकतर्फ कर्णाली विकास बैंक, लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ। साथै उक्त अवधिमा फाइनान्स कम्पनीतर्फ समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स राष्ट बैंकको कारबाहीमा परेका हुन्।
विभागले गरिमा विकास बैंकलाई कालोसूचीमै रहिरहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले बैंकलाईसचेत गराएको थियो। साथै, कर्णाली डेभलपमेन्ट बैंकले निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न उल्लेखनीय रुपले असमर्थ रहेको हुँदा बैंकलाई समस्याग्रस्त घोषणा व्यवस्थापन समूहमार्फत् आफ्नो नियन्त्रणमा लिएको छ।
यस्तै, पोखरा फाइनान्सका सञ्चालक समितिले आफैं वा आफू अन्तर्गतका समितिहरुमार्फत् पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ। भने, सेन्ट्रल फाइनान्सले तोकिएको अनिवार्य मौज्दात रकम कायम नगर्दा ९ हजार १ सय ६ रुपैयाँ ०९ पैसा नगद जरिवाना तिराएको छ।
यसैगरी उक्त अवधिको अन्य कारबाहीमा विभागले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नगरेको भन्दै लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको थियो।
यस्तो गल्ती समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सले पनि गरेका हुन्। यी फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाईसमेत राष्ट बैंकले सचेत गराएको छ।
उल्लेखित विकास बैंक र फाइनान्स कम्पनीहरुले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट बैंकमा पेस गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन गरेका हुन्।