काठमाडौं। २०८१ साउन ३१ गते सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०७८ यताकै उच्च अर्थात् ३०००.८१ बिन्दुमा हुँदा फाइनान्स समूहको सूचक (इन्डेक्स) ३८४८.७२ बिन्दुमा थियो। त्यसबाट घटेर मंगलबार (पुस ८ गते) नेप्से २६१३.०८ बिन्दुमा कायम रहँदा फाइनान्स इन्डेक्स २६०५.४२ बिन्दुमा सीमित भएको छ। साउन यताको पाँच महिनामा फाइनान्स इन्डेक्स १२४३ अंक अर्थात् ४७.७२ प्रतिशतले घटेको छ जुन अन्य सबै समूहभन्दा बढी हो।
पछिल्लो पाँच महिनामा फाइनान्सपछि सबैभन्दा बढी गिरावट आएको समूह बैंकिङ (वाणिज्य बैंक) हो जुन २५.५८ प्रतिशतले घटेको छ। साउन ३१ मा १६८४.९४ बिन्दुमा रहेको बैंकिङ सूचक माघ ८ गतेसम्म आईपुग्दा ३४३ अंकले घट्दै १३४१.३२ बिन्दुमा सीमित भएको छ। यस अवधिमा व्यापार इन्डेक्स २१.७१ प्रतिशत र लगानी समूहको इन्डेक्स २०.७९ प्रतिशतले घटेको छ। साउन ३१ मा ४२१६.११ बिन्दुमा रहेको व्यापार इन्डेक्स माघ ८ मा ३४६४.४८ र साउन ३१ मा १२२.७४ बिन्दुमा रहेको लगानी समूह इन्डेक्स माघ ८ गते १०१.२९ बिन्दुमा खुम्चिएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साउनयता सबैभन्दा कम गिरावट आएको समूह भने जलविद्युत् हो। साउन ३१ मा ३८०९.६६ बिन्दुमा रहेको जलविद्युत् समूह इन्डेक्स १६० अंक अर्थात् ४.३८ प्रतिशतले घट्दै माघ ८ गतेसम्म आईपुग्दा ३६४९.५० बिन्दु कायम छ। साउन ३१ यता बजार सूचक नेप्से ३८७ अंक अर्थात् १४.८१ प्रतिशतले घट्दा जलविद्युत् समूहको सूचक भने १६० अंकले मात्रै घटेको हो।
जलविद्युत्पछि सबैभन्दा कम गिरावट आएको समूह विकास बैंक हो जसमा साउन यता ७.३६ प्रतिशतको गिरावट आएको छ। साउन ३१ मा ५७६२.८६ बिन्दुमा रहेको विकास बैंक समूहको इन्डेक्स ३९५ अंक अर्थात् ७.३६ प्रतिशतले घट्दै माघ ८ सम्म आईपुग्दा ५३६७.७८ बिन्दुमा सीमित भएको छ। यसरी, अन्य समूहमा भन्दा फाइनान्स समूहमा भने दोब्बर तेब्बर बढीको गिरावट देखिएको छ। फाइनान्समा देखिएको यो किसिमको गिरावटका पछाडि पछिल्लो समय बजारमा देखिएका नियमन र वित्तीय स्थितिको भूमिका प्रमुख देखिन्छ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे वित्तीय सूचक र राष्ट्र बैंकले नियमनमा देखाएको सक्रियताका कारण लगानीकर्ताको रोजाईमा फरक क्षेत्रका कम्पनी परेको बताउँछन्। यही कारण बजारमा फरक किसिमको प्रवृत्ति देखिएको उनको तर्क छ। ‘पछिल्लो समय राष्ट्र बैंकले कमजोर कम्पनीमाथि निगरानी बढाइरहेको छ। यसले लगानीकर्तामा कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्नुपर्छ भन्ने सन्देश गएको छ,’ अध्यक्ष पाण्डे भन्छन्, ‘सर्टटर्म कारोबार गर्नेको प्राथमिकतामा पनि फाइनान्स समूह नपर्दा यसमा उच्च गिरावट आएको हो।’
पाण्डेका अनुसार हिजोका दिनमा फाइनान्स समूह उकालो लाग्दा पनि एक किसिमको ‘बबल’ सिर्जना गरेर तीव्र गतिमा उचालिएको थियो। ट्रेडरको रोजाइमा यस्तै समूहका कम्पनी पर्दा बजारमा हालीमुहाली यीनै कम्पनीको थियो। तर, आज केन्द्रीय बैंकले निगरानी बढाइरहँदा र केही कम्पनी डुबिसक्दा लगानीकर्ता सचेत हुन थालेका छन्। सर्टटर्म गर्नेहरुले पनि कम्पनीको आधार कस्तो छ भनेर हेर्न थालेका छन्। फाइनान्स समूहका अधिकांश कम्पनीको वित्तीय अवस्था राम्रो नभएका कारण लगानीकर्ता अन्य समूहतर्फ प्रवेश गर्न थालेका छन्।
‘फाइनान्सको वित्तीय अवस्था राम्रो छैन। लोक्याप भएका अन्य समूहका कम्पनी पनि बजारमा प्रयाप्त छन्,’ अध्यक्ष पाण्डे भन्छन्, ‘यही कारण फाइनान्समा ठूलो गिरावट आएको हो। यद्यपि, धेरै घटिसकेकाले अब ठूलो मात्रामा घट्ने सम्भावना छैन। अर्को त्रैमाससम्म फाइनान्स कम्पनीले आफ्नो पफर्मेन्स सुधार गरेमा फेरि यो क्षेत्र लगानीकर्ताको रोजाइमा पर्न सक्छ।’उनले हिजो फाइनान्स समूह बढ्दा तीव्र गतिमा बढेकाले घट्दा पनि सोही गति देखिएको बताए।
हुन त, चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण हेर्ने हो भने फाइनान्स कम्पनीको वित्तीय अवस्था नाजुक स्थितिमा देखिन्छ। कम्पनीहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार १५ कम्पनीमा सात फाइनान्सको नाफा ऋणात्मक र आठ फाइनान्सको धनात्मक छ। पुस मसान्तसम्म कूल कर्जामा फाइनान्स कम्पनीहरुको औसत निष्कृय कर्जा १२.४ प्रतिशत रहेको छ जबकि यस्तो कर्जा गतवर्षको सोही अवधिमा भने ६.९९ प्रतिशत मात्रै थियो।
१५ मध्येमा दुई वटाको निष्कृय कर्जा घट्दा १३ वटाको बढेको छ। गत वर्षको पुस मसान्तसम्म १५ फाइनान्सको खुद नाफा ७ करोड ८६ लाखले धनात्मक रहेकोमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७३ करोड २ लाख रुपैयाँले ऋणात्मक छ। यसरी, समग्रमा फाइनान्स कम्पनीको वित्तीय अवस्था नाजुक रहेकाले यो इन्डेक्स थप ओरालो लाग्नसक्ने सम्भावना भने देखिन्छ। तथापि, यो बीचमा केही फाइनान्स कम्पनीको सेयर उतारचढावले पनि मानिसलाई त्रासमा राखेको छ।
करिब ३०० रुपैयाँ हाराहारी रहेको नेपाल फाइनान्सको सेयर मूल्य लगातार उकालो लागेर २०८१ साउन २९ गते २६१४ रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो। त्यसबाट लगातार घटेर हाल ८०० तल छ। सोही स्थितिमा रहेको गुडवील फाइनान्स पनि ४०० रुपैयाँ हाराहारीबाट लगातार उकालो लागेर भदौ १७ मा १३३० रुपैयाँसम्म पुगेको थियो। जसको मूल्य पनि हाल ७०० रुपैयाँ छ। यो किसिमको अस्वभावि उतारचढाव अन्य कम्पनीमा रहेकाले पनि लगानीकर्ता त्रासमा रहेको पाइन्छ। यी समग्र परिदृश्यले फाइनान्स समूहमा उच्च गिरावट आएको हो।